खेल

चीनमा जुम्ली धाविका पहिलो : अभाव र संघर्षबाट अन्तर्राष्ट्रिय मञ्चसम्म राममायाको उडान

जुम्लाको पातारासी गाउँपालिका-२, दुर्गम पेरेगाउँ जहाँ सडकभन्दा गोरेटो धेरै छन् र अवसरभन्दा अभाव गहिरा, त्यहीँबाट उठेकी एक युवतीले अन्तर्राष्ट्रिय मञ्चमा केवल आफ्नो नाम होइन, सिंगो भूगोलको कथा सुनाएकी छन्। 

जुम्ला सदरमुकाम खलंगाबाट करिब आठ कोस टाढा पर्ने यही भूगोलकी धाविका राममाया बुढाले चीनको चेन्दुमा सम्पन्न ६० किलोमिटर ट्रेल रेसमा पहिलो स्थान हासिल गरिन्। ६ घण्टा ६ मिनेट ५७ सेकेण्ड-यो समय दूरी नाप्ने घडी मात्र होइन, वर्षौँको अभाव, निरन्तर अभ्यास र अडिग आत्मविश्वासको मापन हो। 

पेरेगाउँका उकालो-ओरालामा दौडिँदै हुर्किएकी राममायालाई सायद त्यतिबेला थाहा थिएन, त्यही दैनिकी एकदिन अन्तर्राष्ट्रिय पहिचान बन्नेछ। उनका लागि दौड खेल मात्र थिएन, जीवन थियो; र अहिले त्यही जीवन संघर्ष उपलब्धिको इतिहास बन्यो।

राममायाको यात्राको केन्द्रीय पक्ष अवसरको खोजी होइन, अभावमै अवसरको सिर्जना हो। न आधुनिक ट्र्याक, न स्तरीय उपकरण, न पर्याप्त पोषण-तर अनुशासन, निरन्तरता र दृढ मनोबल। यही संयोजनले उनलाई विश्वका कठिन ट्रेलहरूमा उभ्यायो। उनको सफलतामा प्रशिक्षक हरिबहादुर रोकायाको भूमिका उल्लेखनीय छ। उनले केवल प्रशिक्षण दिएनन्, सम्भावनामा विश्वास गर्न सिकाए। झण्डै एक दशकको सहयात्राले राममायालाई खेलाडीभन्दा माथि उठाएर संघर्ष, निरन्तरता र आत्मविश्वासको प्रतीक बनायो।

तर, यो सफलतासँगै केही असहज प्रश्नहरू पनि उब्जिन्छन्। किन यस्ता प्रतिभाहरू अझै दुर्गम भेगमै संघर्ष गर्न बाध्य छन्? किन राज्यको संरचना उनीहरूको यात्रामा साथ दिन ढिलो गर्छ? राममायाको जित उत्सव मात्र होइन, व्यवस्थाप्रतिको मौन प्रश्न पनि हो। उनको उपलब्धिले कर्णालीमा मनोवैज्ञानिक परिवर्तनको संकेत दिएको छ। खेलकुदलाई ‘समयको बर्बादी’ ठान्ने दृष्टिकोण क्रमशः ‘सम्भावनाको बाटो’तर्फ मोडिँदैछ। गाउँका धेरै किशोरीहरू, जसको क्षितिज कहिल्यै गाउँबाहिर पुगेको थिएन, अहिले दौडमार्फत विश्व हेर्ने सपना देख्न थालेका छन्।

‘दौडेर पनि देश चिनाउन सकिन्छ भन्ने महसुस भयो,’ राममाया भन्छिन्। साधारण जस्तो लाग्ने यो वाक्यको अर्थ गहिरो छ, पहिचान केवल राजनीति वा सहरले मात्र बनाउँदैन, एउटा ग्रामीण युवतीको पसिनाले पनि बनाउँछ। उनकी दिदी सुनमाया पनि एथ्लेटिक्स धाविका हुन्। यसले एउटा दुर्गम गाउँले कसरी विश्वसँग संवाद गर्छ भन्ने देखाउँछ। अभावले प्रतिभालाई दबाउँदैन, बरु अझ कडा बनाउँछ भन्ने उदाहरण हो राममायाको कथा। राममायाको जितले सम्झाउँछ, नेपालको वास्तविक शक्ति सहरका सुविधा होइनन्, गाउँका संघर्ष हुन्। ती संघर्षहरूलाई अवसरमा रूपान्तरण गर्न सकियो भने, विश्व मञ्चमा चम्किन बाँकी नामहरू अझ धेरै छन्।

प्रकाशित: १६ चैत्र २०८२ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App