उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।
बुधबार दिउँसो सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब, सिराहालाई २–० गोलले पराजित गर्दै सातदोबाटोले फाइनल यात्रा तय गरेको हो।
खेल सुरु भएको पहिलो मिनेटमै सातदोबाटोका प्रताप राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा रोहन कार्कीले अर्को गोल थपेपछि सातदोबाटोले सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो।
खेलमा सातदोबाटोका प्रताप राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उदयपुर जेसीजका अध्यक्ष ब्रह्मदेव महतो र आयोजक क्लबका अध्यक्ष रञ्जन कार्कीले नगद ७ हजार ५ सय रुपैयाँ तथा ट्रफी प्रदान गरे।
प्रतियोगिताअन्तर्गत बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब, सुनसरी र पाहुना टोली जर्जियन क्लब, भारतबीच प्रतिस्पर्धा हुनेछ।
आयोजक त्रियुगा फुटबल क्लबका अनुसार प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ५ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।
विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
त्रियुगा नगरपालिका–१३, हवाईफिल्डस्थित थरुहट उदयपुर रङ्गशालामा जारी प्रतियोगिताको फाइनल खेल आगामी कात्तिक २१ गते शनिबार हुनेछ।
प्रकाशित: १८ कार्तिक २०८३ २०:१४ बुधबार



