खेल

काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपालको पहिलो हार

दुई पल्ट पुनरागमनको बाबजुद नेपालको भलिबल लिग च्याम्पियन हेल्प नेपाल स्पोटर्स क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा पहिलो हार बेहोरेको छ।

मालेस्थित सोसिएल सेन्टमा शनिबार भएको आफ्नो तेस्रो खेलमा हेल्प नेपाल स्पोटर्स किर्गिस्तानको क्लब बिस्केक किर्गिस्तानसँग ३–२ ले पराजित भएको थियो।

नेपाली लिग च्याम्पियन हेल्प नेपालले दुई पल्टसम्म खेलमा पर्‍यो। तर, पुनरागमन गरे पनि जित भने निकाल्न सकेन। बिस्केकले पहिलो सेट २५–२० ले सहजै आफ्नो बनायो। तर, निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपाली टोलीले २६–२८ ले बाजी मार्‍यो।

फेरि तेस्रो सेट बिस्केकले २५–२० ले आफ्नो पक्षमा पार्दै सेटमा २–१ को अग्रता लियो। तर, चौथो हेल्प नेपालले २५–१७ ले आफ्नो बनाउँदै सुधारिएको खेल प्रदर्शन गर्‍यो।

यससँगै सेटमा २–२ को बराबरी भयो। खेलको निर्णयको लागि पाँचौं तथा अन्तिम सेटतर्फ धकेलियो। पाँचौं सेटमा पनि हेल्प नेपालले चुनौती दियो। तर, जित भने निकाल्न सकेन।

यो सेट १५–११ ले गुमाएसँगै हेल्प नेपालले जारी च्याम्पियन्स लिगमा पहिलो हार सामना गर्‍यो। हेल्प नेपालले यसअघि दुई खेल भने जितेको थियो।

पाकिस्तानी तीन खेलाडी समावेश गरेको हेल्प नेपालले पहिलो खेल पनि पाँचौं सेटसम्म खेलेको थियो। तर, नेपाली टोलीले माल्दिभ्सको धिबेही सिफाइन्स क्लबमाथि ३–२ को जित निकाल्दै सुखद सुरुवात गरेको थियो।

हेल्प नेपालले पहिलो र दोस्रो सेट क्रमशः ३३–३१ र २५–२० ले जितेको थियो। तर, तेस्रो र चौथो सेट क्रमशः २५–२२, २५–२० ले गुमाउन पुग्यो।

पाँचौं र निर्णायक सेटमा भने हेल्प नेपाल १५–८ ले सहजै आफ्नो बनाएको हो। हेल्प नेपालले दोस्रो खेलमा पनि माल्दिभ्सकै क्लब एचडिसीलाई ३–१ ले हराएको थियो।

यो खेलमा सुरुवाती दुई सेट जितेर हेल्प नेपाल सहज जिततर्फ अग्रसर थियो। तर, तेस्रो सेटमा पराजित भए पनि हेल्प नेपालले खेल गुमाएन। चौथो सेटमा लयमा फर्कदै हेल्प नेपालले सुखद सुरुवात गरेको थियो।

सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना जारी च्याम्पियन्स लिग जुलाई २३ तारिखसम्म चल्नेछ। च्याम्पियन्स लिगमा सेन्ट्रल एसियाका पाँच राष्ट्रका ६ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

यो प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धत्तिमा भइरेको छ। लिगको शीर्ष दुई स्थानका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ। हेल्प नेपाल गत संस्करणको उपविजेता पनि हो।

काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय बेहोरेको थियो।

यसपल्ट उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली माल्दिभ्स गएको हो।

प्रकाशित: ३ श्रावण २०८२ २१:०८ शनिबार