नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएका छन्।
सुदूरपश्चिमले आजको खेलमा दुई परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् ।
लुम्बिनीले एक परिवर्तन गरेको छ । जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहा आएका छन् । उनी पहिलो खेल खेल्दै छन् ।
आजको खेल जसले जितेपनि नयाँ टोली च्याम्पियन बन्नेछ । साविक विजेता जनकपुर बोल्ट्स लिगको पुछारमा रहेर बाहिरिएपछि एनपीएलले नयाँ च्याम्पियन पाउन लागेको हो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
गत संस्करणमा लिग चरणको पुछारमा रहेर बाहिरिएको रोहित पौडेलको नेतृत्वको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।
एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ । विराटनगर तेस्रो तथा काठमाडौं चौथो भएको छ ।
नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा गत मंसिर १ गतेदेखि भएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए ।
प्रकाशित: २७ मंसिर २०८२ १५:३४ शनिबार



