खेल

विराटनगरसँग बदला लिँदै सुदूरपश्चिम राेयल्स एनपिएलकाे फाइनलमा

सुदूरपश्चिम रोयल्स दोस्रो पटक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्ससँग लिग चरणको अन्तिम खेलमा ब्यहोरेको हारको बदला लिँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।  

टस हारेर पहिले ब्याटिङ गर्दा बनाएको १५६ रनको लक्ष्य बचाउँदै सुदूरपश्चिमले विराटनगरलाई ७७ रनको हार चखाएको छ। विराटनगरले १४ ओभर १ बलमा अलआउट हुँदै ७८ रन मात्रै जोड्न सक्यो।  

विराटनगरलाई रोक्ने क्रममा सुदूरपश्चिमका बलरहरू हरमित सिंह, स्कट कगलाइन र अविनाश बोहराले २–२ विकेट लिँदा हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।  

विराटनगरका तर्फबाट फाप डु प्लेसिसले सर्वाधिक २९ बलमा ३६ रन बनाए। उनीबाहेक मर्चेट डि लाङ्गेले १५ रनको योगदान दिँदा बसिर अहमदले १५ रन मात्रै बनाउन सके।  

यसअघि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। जसमा विनोद भण्डारीले अर्धशतकीय इनिङ खेल्दै ६३ रन बनाएका थिए। यस्तै आरिफ शेख र शेल्डन ज्याक्सनले २०–२० रन जोडे।  

बलिङमा विराटनगरका मर्चेन्ट डि लांगे र प्रतिश जिसीले २–२ विकेट लिँदा सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।  

अब सुदूरपश्चिम सिधै फाइनलमा पुग्दा विराटनगरलाई थप एक मौका हुनेछ। उसले बुधबार हुने लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबिचको एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।  

दोस्रो क्वालिफायरको विजेता टोली सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ।  

प्रकाशित: २३ मंसिर २०८२ १९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App