खेल

विविध विधामा सफलता

नेपाली खेलकुद इतिहासमा यस्ता धेरै पात्र छन्, जसले अभाव, संघर्ष र सीमित अवसरका बिच आफ्ना सपना बोक्दै निरन्तर अघि बढेका छन् । तीमध्ये एक प्रतिनिधि पात्र हुन् अञ्जन धमला । जो एक समय राष्ट्रिय खेलाडी थिए । अहिले अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिकामा स्थापित भएका छन्, उनी । करिब दुई दशकभन्दा बढी समय तेक्वान्दोमा समर्पित धमला खेलाडी हुँदै सोही खेलको राष्ट्रिय अध्यक्ष (नेपाल आइटिएफ तेक्वान्दो महासंघ) सम्म बने । अञ्जन अहिले एसियन तेक्वान्दो फेडेरेसन (एटिएफ) र दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष छन् । साथै उनी ई स्पोटर््स एसोसिएसन नेपालका अध्यक्ष पनि हुन् । गोरखाको घैरुङ गाउँमा सामान्य परिवारमा जन्मिएका धमलाको बाल्यकाल अभावमै बित्यो।

बाबु टीकाराम र आमा हरिमाया धमलाले सीमित साधनस्रोतका बावजुद छोराको भविष्यप्रति ठूलो आशा राखेका थिए । गाउँकै सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा हासिल गर्न काठमाडौं आइपुगे । राजधानीको नयाँ परिवेशमा संघर्षपूर्ण जीवनसँग जुध्दै उनले पढाइसँगै आफ्नो भविष्यको बाटो खोज्न थाले । उनका दाजु सुरज धमला खेलप्रति निकै रुचि राख्थे । देशमा संघर्षरत सुरज खेल भनेपछि हुरुक्कै हुन्थे । त्यसमा पनि मार्सल आटर््स त उनका लागि मन पर्ने खेल नै थियो । तर, सुरजले त्यो मनपर्ने खेल खेल्न पाएका थिएनन् । आफूले खेल्न नपाए पनि सुरजले भाइ अञ्जनलाई त्यसतर्फ डो¥याए।

यहीँबाट अञ्जनको यात्रा खेलकुदतर्फ गयो, विशेषतः मार्सल आट्र्सतर्फ । उनको खेलजीवन डब्लुटिएफ तेक्वान्दोबाट सुरु भएको हो । उनले प्रारम्भिक प्रशिक्षण नेपाली तेक्वान्दोका ओलम्पियन मानबहादुर तामाङबाट प्राप्त गरे । त्यहींबाट अञ्जनले अनुशासन, मेहनत, समर्पण र धैर्य सिके । पछि उनले आइटिएफ तेक्वान्दोलाई आफ्नो मुख्य कर्मक्षेत्र बनाए । खेलप्रतिको लगन र निरन्तर अभ्यासले उनलाई छिट्टै राष्ट्रिय स्तरमा स्थापित गरायो । पहिलो र दोस्रो राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै उनले आफ्नो क्षमता प्रमाणित गरे । अन्तर्राष्ट्रिय स्तरमा उनको यात्रा सन् २००८ मा बेलायतमा आयोजित प्रतियोगिताबाट सुरु भयो । त्यसपछि उनले सिंगापुर, बुल्गेरिया, अस्ट्रेलिया, थाइल्यान्ड, दुबई, मलेसिया र चीनलगायत देशहरूमा आयोजना भएका विभिन्न प्रतियोगितामा सहभागिता जनाए।

त्यो समय नेपाली खेलकुद पूर्वाधार कमजोर थियो अनि आर्थिक अभाव र अवसरको कमी पनि । तर यी सबै चुनौतीबिच पनि उनले आफ्नो लक्ष्य छाडेनन् । खेल जीवनसँगै बढ्दो पारिवारिक जिम्मेवारीले अञ्जनलाई थप परिपक्व बनायो । काम र खेललाई सँगसँगै अघि बढाउनु उनका लागि सहज थिएन । तर निरन्तर प्रयास र पारिवारिक साथका कारण उनले आफ्नो यात्रालाई रोकेनन् । उनकी पत्नी विन्दा महतले पनि उनको खेल जीवनमा महत्त्वपूर्ण साथ दिइन् । जसले गर्दा अञ्जनको अन्तर्राष्ट्रिय महासंघको नेतृत्वसम्म पुग्न अझ मजबुत बनायो । समयसँगै उनले आफ्नो भूमिका विस्तार गर्दै लगे । खेलाडीबाट प्रशिक्षक, त्यसपछि प्राविधिक र निर्णायकको भूमिकामा उनले आफूलाई रूपान्तरण गरे।

पछि अञ्जनको यात्रा दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघको रेफ्री चेयरम्यानसम्म पुग्यो । कोरियामा सम्पन्न १७औं विश्व तेक्वान्दो च्याम्पियनसिपमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु उनका लागि महŒवपूर्ण अवसर थियो । त्यसपछि उनले अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री लाइसेन्स प्राप्त गरे । कजाखस्तानमा भएको २२औं विश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरे । वि.सं. २०६१ देखि आइटिएफ तेक्वान्दोको प्राविधिक रूपमा सक्रिय रहेका धमला क्रमशः महासंघको उच्च तहसम्म पुगे । केन्द्रीय सदस्य, रेफ्री प्रमुख, उपाध्यक्ष हुँदै उनी महासंघको अध्यक्ष बने । उनको नेतृत्वमा आइटिएफ तेक्वान्दो नेपालका ५० जिल्लामा विस्तार भइसकेको छ।

साथै, ३२ राष्ट्र सहभागी एसियन आइटिएफ तेक्वान्दो प्रतियोगिता नेपालमा सफलतापूर्वक आयोजना हुनु पनि उनको नेतृत्वको महत्त्वपूर्ण उपलब्धि हो । उनको योगदानको कदर गर्दै बुल्गेरियामा सम्पन्न विश्व आइटिएफ अधिवेशनमा उनलाई विशेष सम्मान, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सन् २०१९ मा अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) बाट आउटस्ट्यान्डिङ इन्स्ट्रक्टर अवार्ड प्राप्त गर्नु उनको करियरको अर्को महत्त्वपूर्ण उपलब्धि हो । साथै, उनले अन्तर्राष्ट्रिय स्तरमा छैटौं डान हासिल गरेका छन्, जुन तेक्वान्दोमा उच्च स्तरको उपलब्धि मानिन्छ।

उनी दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष, एसियन तेक्वान्दो फेडेरेसनका कार्यकारी सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य पनि भए । उनले राखेपमा रहँदा महत्त्वपूर्ण भूमिका पनि निभाए । राखेपमा अञ्जनको सक्रियताकै कारण तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले पनि उनलाई सम्मानपत्र प्रदान गरे । चीनको हाङ्झाउमा सन् २०२३ मा सम्पन्न १९औं एसियाली खेलकुदमा डेपुटी सेफ द मिसनको भूमिका निर्वाह गर्नु पनि उनको नेतृत्व क्षमताको उदाहरण हो । विदेशमा आकर्षक अवसरहरू हुँदाहुँदै पनि धमलाले नेपालमै बसेर खेलकुद विकासमा योगदान गर्ने निर्णय गरेका थिए।

मकाउमा उच्च तलबको जागिरको अवसर अस्वीकार गर्दै उनले आफ्नो जीवन नेपाली खेलकुदमै समर्पित गरे । त्यही त्यागले उनलाई नेपाली खेलकुदमा स्थापित ग¥यो । उनको दीर्घकालीन लक्ष्य नेपाललाई अन्तर्राष्ट्रिय स्तरको उच्च उचाइ प्रशिक्षण केन्द्रका रूपमा विकास गर्नु र विश्वस्तरीय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्नु हो । अञ्जनको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन । यो संघर्ष, समर्पण र दृढ इच्छाशक्तिको उदाहरण हो । सीमित स्रोतबाट सुरु भएको उनको यात्रा आज अन्तर्राष्ट्रिय नेतृत्वसम्म पुगेको छ । उनले देखाएको बाटोले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिन्छ  । त्यसका लागि निरन्तर मेहनत गर्नुपर्छ र अनि सफलता अवश्य प्राप्त हुन्छ।

प्रकाशित: १३ जेष्ठ २०८३ ०८:४९ बुधबार