खेल

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

युईएफए नेसन्स लिगमा इङ्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई ३-२ ले हराउँदै उसको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। 

सोमबार बिहान म्याड्रिडमा भएको खेलमा १० खेलाडीमा सीमित भएपछि पनि इङ्ल्यान्डले शानदार जित निकालेको हो। 

इङ्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो ९३औँ गोल पूरा गरे। दोस्रो हाफमा डेक्लान राइसको कर्नरमा एज्री कोन्साले हेडमार्फत गोल गरे भने जुड बेलिङ्घमको पासमा बेन ह्वाइटले गोल गर्दै इङ्ल्यान्डलाई ३-० को अग्रता दिलाए। तर इलियट एन्डरसनले लामिन यामाललाई फाउल गरेपछि रातो कार्ड पाएसँगै खेलको अवस्था बदलियो। मिकेल ओयारजाबालले पेनाल्टीमार्फत स्पेनका लागि पहिलो गोल गरे भने निको विलियम्सले अर्को गोल थपे।

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए। उनले फर्मिन लोपेज, एमेरिक लापोर्टे, यामाल र मार्क कुकुरेलाका महत्त्वपूर्ण प्रयास रोके।

इङ्ल्यान्डका डेक्लान राइसले टोली खेलअघि नै आत्मविश्वासी रहेको बताए। उनले भने, ‘हामीलाई थाहा थियो कि आज राति उनीहरूलाई हराउन सक्छौँ। हामी यहाँ पछाडि बसेर काउन्टर आक्रमण मात्र गर्न आएका थिएनौँ।’

स्पेनका गोलकिपर उनाई सिमोनले इङ्ल्यान्ड उत्कृष्ट रहेको स्वीकार गरे। उनले भने, ‘आज राति उनीहरू हामीभन्दा उत्कृष्ट थिए। हामी यसबाट सिकेर मार्चमा अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ।’

समूह ए३ मा इङ्ल्यान्ड शीर्ष स्थानमा रह्यो। दुवै टोली भने खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेका थिए। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले यसलाई आफ्नो टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन बताएका छन्।

उनले भने, ‘परिस्थिति, दबाब, विपक्षीको गुणस्तर र खेलको स्थानलाई हेर्दा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो।’

प्रकाशित: ३० कार्तिक २०८३ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App