खेल

स्कटल्यान्डको शानदार जित, डेब्युमा रोबर्टसनको ६ विकेट

स्कटल्यान्डले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामाथि १७० रनको फराकिलो जित हात पारेको छ।

फोर्थहिलमा भएको खेलमा कप्तान रिची बेरिङ्टनको शतक र डेब्यु गरेका लाइल रोबर्टसनको उत्कृष्ट बलिङमा स्कटल्यान्डले प्रभावशाली जित निकालेको हो। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनायो। कप्तान बेरिङ्टनले १२० रनको शानदार इनिङ्स खेले। उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको सातौँ शतक हो।

स्कटल्यान्डले सुरुवाती दुई विकेट केवल २५ रनमा गुमाए पनि बेरिङ्टन र ब्रेन्डन म्याकमलेनले तेस्रो विकेटका लागि १४० रनको महत्वपूर्ण साझेदारी गरे। म्याकमलेनले ६४ रन बनाए। त्यसपछि माइकल जोन्सले ४१ तथा म्याथ्यु क्रसले अविजित ५१ रन थपे। ज्याक जार्भिसले १४ बलमा आक्रामक ३० रन बनाएपछि स्कटल्यान्ड विशाल योगफल बनाउन सफल भयो।

३४८ रनको लक्ष्य पछ्याएको क्यानडा भने स्कटल्यान्डको बलिङसामु टिक्न सकेन। डेब्यु खेल खेलिरहेका २३ वर्षीय लाइल रोबर्टसनले ५२ रन खर्चेर ६ विकेट लिए। क्यानडाका लागि पर्गट सिंहले ४२ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। रोबर्टसनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो विकेट हर्ष ठाकरलाई आउट गर्दै लिए। त्यसपछि अन्तिम १५ बलमा उनले पाँच विकेट झार्दै डेब्यु खेलमै सनसनीपूर्ण प्रदर्शन गरे।

क्यानडामाथिको जितसँगै स्कटल्यान्डले विश्वकप छनोटमा आफ्नो स्थान यसअघि नै सुरक्षित गरिसकेको छ। यूएईलाई पनि पराजित गरेको स्कटल्यान्ड अहिले विश्वकप लिग-२ को अंकतालिकामा शीर्ष स्थानमा छ। चार खेल कम खेलेको अमेरिका शीर्ष स्थानमा रहेको स्कटल्यान्ड दुई अंकले मात्र पछाडि छ।

प्रकाशित: २९ श्रावण २०८३ ०६:२८ शुक्रबार