भारतीय क्रिकेट खेलाडी रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ३३ औँ शतक प्रहार गरेका छन्।
अष्ट्रेलियाविरुद्ध सिड्नीमा जारी खेलमा उनले यस उपलब्धि हासिल गरेका हुन्। शर्माको शतकसँगै भारतीय टोली जितको नजिक पुगेको छ।
२३७ रनको लक्ष्य पछ्याइरहेको भारतले यो समाचार तयार पार्दासम्म ३८ ओभरमा एक विकेटको क्षतिमा २३१ रन बनाइसकेको छ।
क्रिजमा रोहित शर्मा र विराट कोहलीको जोडी जमेको छ । भारतलाई अब जितका लागि मात्र ६ रन आवश्यक छ। यसअघि ओपनर शुभमन गिल २४ रन बनाएर जोश हेजलवुडको बलमा आउट भएका थिए।
यसै खेलमा विराट कोहलीले एकदिवसीय क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडीको कीर्तिमान बनाएका छन्। उनले ५४ रन बनाउँदै श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा (१४,२३४ रन) लाई पछि पारेका हुन्। यो सूचीमा भारतकै सचिन तेन्दुलकर (१८,४२६ रन) शीर्ष स्थानमा छन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४६.४ ओभरमा २३६ रन बनाउँदै अलआउट भएको थियो।
एक समय ३ विकेटको क्षतिमा १८३ रन बनाएर बलियो स्थितिमा रहेको अष्ट्रेलियाले अन्तिमका ७ विकेट मात्र ५३ रनमा गुमाएको थियो। उसका लागि म्याट रेनशले सर्वाधिक ५६ रनको योगदान दिए।
भारतका लागि हर्षित राणाले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए भने वाशिङ्टन सुन्दरले २ विकेट हात पारे। तीन खेलको शृंखला अष्ट्रेलियाले पहिले नै २-० ले आफ्नो पक्षमा पारिसकेको छ।
प्रकाशित: ८ कार्तिक २०८२ १५:५५ शनिबार



