खेल

फिलिपिन्सका किम्बर्टलाई हराउँदै सेमिफाइनलमा रविन्द्र ढाँट

नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा आज सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

यस जितसँगै २७ वर्षीय रविन्द्रको व्यावसायिक एमएमए करियरमा १०औं जित दर्ता भएको छ। उत्कृष्ट रणनीति र सटिक प्रहारको मद्दतले उनले फिलिपिन्सका अनुभवी फाइटर किम्बर्टलाई दबाबमा राख्दै नतिजा आफ्नो पक्षमा पारेका हुन्।

यसअघि रविन्द्रले भारतको ‘मेट्रिक्स फाइट नाइट’ (एमएफएन) मा च्याम्पियन बनेर आफ्नो क्षमता प्रमाणित गरिसकेका थिए।

प्रतियोगिताको सुरुवातमा रविन्द्रको सामना म्याटी इआनसँग हुने तय भएको थियो। तर, इआन घाइते भएपछि अन्तिम समयमा आएका किम्बर्टसँग उनले आज प्रतिस्पर्धा गरेका हुन्।

विपक्षी परिवर्तन भए पनि उच्च मनोबलका साथ रिङमा उत्रिएका रविन्द्रले नेपाली खेलप्रेमीहरूको अपेक्षाअनुसारको प्रदर्शन गर्न सफल भए।

प्रकाशित: १४ जेष्ठ २०८३ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App