सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा जारी ‘एसियाली खेलकुद पुरुष क्रिकेट छनोट’ को फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ।
हङकङले प्रस्तुत गरेको १ सय ८९ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले १० ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा ९६ रन जोडेको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो।
नेपाललाई उपाधि जित्नका लागि अब बाँकी ६० बलमा ९३ रनको आवश्यकता छ। हाल क्रिजमा ओपनर कुशल भुर्तेल ६५ रन र कप्तान रोहित पौडेल २६ रन बनाएर अविजित रहेका छन्।
भुर्तेलले ३९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै विष्फोटक पारी खेलिरहेका थिए। वर्षाले खेल रोकिनुअघि नेपाल ९.६० को रनरेटमा खेलिरहेको छ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।
हङकङका लागि ओपनर अन्सी रथले सानदार ब्याटिङ गर्दै ४५ बलमा ८० रनको योगदान दिए। उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै, साहिद वासिफले २८ बलमा ५५ रनको अर्धशतकीय पारी खेलेपछि हङकङ मजबुत स्थितिमा पुगेको थियो।
नेपालको बलिङतर्फ शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा ३२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिएका थिए। त्यस्तै, करण केसीले २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।
नेपालका अन्य बलरहरू दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले भने विकेट लिन सकेनन्।
नेपालको जवाफी ब्याटिङको सुरुवात मध्यम रहेको थियो। ओपनर आसिफ शेख पहिलो ओभरमै शून्य रनमा आउट भएपछि नेपालले ४० रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो।
उनलाई हङकङका आयुष शुक्लाले बोल्ड गरेका थिए। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका छन्।
मैदानमा वर्षा जारी रहेका कारण डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा नतिजा आउन सक्ने सम्भावना पनि रहेको छ। १० ओभरको समाप्तिमा नेपाल पार स्कोरभन्दा अगाडि रहेकाले वर्षा नरोकिई खेल रद्द भएमा नेपालले प्राविधिक रूपमा अग्रता पाउने सम्भावना रहन्छ।
प्रकाशित: २५ जेष्ठ २०८३ १५:१८ सोमबार



