बंगलादेशको ढाकामा आगामी कार्तिक १८ (नोभेम्बर ४) गते सुरु हुने साफ च्याम्पियनसिपको ड्रमा नेपालको नाम समावेश नभएपछि खेलाडीहरुले चिन्ता व्यक्त गरेका छन्।
अखिल नेपाल फुटबल संघ एन्फालाई फिफाले निलम्बन गरेपछि साफ च्याम्पियनसिपको ड्रमा नेपालको नाम समावेश छैन। एएफसीले शनिबार सार्वजनिक गरेको खेल तालिकाको समूह एमा बंगलादेश, श्रीलंका र भुटान तथा समूह बीमा भारत, पाकिस्तान र माल्दिभ्स छन्। फिफाले एन्फाको निलम्बन सेप्टेम्बर एकभित्र फुकुवा गरेमात्र नेपालले साफ खेल्न पाउनेछ।
नेपालको नाम खेल तालिकामा नदेखेपछि राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले दुःख व्यक्त गर्दै नेपालको नाम नदेख्दा मन खिन्न भएको बताएका छन्। नेपालका लागि सधै्र गर्व, जोश र आशाका साथ संघर्ष गरेको बताउँदै उनले गर्विलो नेपाली फुटबल खेलाडीका रुपमा साफ च्याम्पियनसिपको खेल तालिकामा नेपालको नाम नदेख्नु दुखद् रहेको उल्लेख गरे।
उनले राष्ट्रिय टोली मैदानमा फर्कन सधैं तयार रहेको स्पष्ट पार्दै कप्तान चेम्जोङले नेपालको निलम्बन चाँडै हट्ने विश्वास व्यक्त गरे।
नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको बताउँदै फिफाले एन्फालाई गत असार १० गते निलम्बन गरेको हो।
यो पनि पढ्नुहोस्
मैदान बाहिरको लडाइँले निम्त्याएको फुटबल संकटः अब दोषारोपण होइन, समाधान खोजौँ
राष्ट्रिय टोलीका अर्का सदस्य मनिष डाँगीले देशका लागि खेल्ने अवसरबाट बन्चित नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै फुटबलमाथिको प्रतिबन्ध चाँडै हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले राष्ट्रका लागि खेल्नु भनेको खेलमात्र नभइ गौरव, पहिचान र सम्मानको विषय भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, हामीलाई हाम्रो झण्डा, हाम्रा जनता र हाम्रा सपनाहरुको प्रतिनिधित्व गर्ने अवसर दिइयोस्।
डाँगीले एन्फा, राखेप र सम्बन्धित निकायलाई खेलाडी र राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल आवश्यक निर्णय लिन अपिल गरेका छन् ।
प्रकाशित: १७ श्रावण २०८३ १९:११ आइतबार



