खेल

लयर्स फुटसल कपको उपाधि नेपाल न्यायलाई, टाइब्रेकरमा भक्तपुर बार ‘ए’ पराजित

नेपाल न्यायले लयर्स फुटसल कप–२०८३ को उपाधि जितेको छ।

भक्तपुर बार एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा भक्तपुर बार ‘ए’लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल न्यायले उपाधि जितेको हो। टाइब्रेकरमा नेपाल न्यायले ३ गोल गर्यो भने भक्तपुरले एक गोलमात्र गर्न सक्यो।  

यसअघिको निर्धारित समय भने १–१ गोलको बराबरीमा सकिएको थियो।  

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र प्रमुख अतिथि रहेको समापन समारोहमा विजेता नेपाल न्याय, उपविजेता भक्तपुर बार ‘ए’ तथा तेस्रो स्थान हासिल गरेको काठमाडौं बार ‘सी’ लाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

आज नै सम्पन्न तेस्रो स्थानको खेलमा काठमाडौं बार सि टिमले भक्तपुर बार बि टिमलाई ३-१ गोलले पराजित गर्यो।  

व्यक्तिगत विधातर्फ नेपाल न्यायका राजेश तामाङ उत्कृष्ट गोलकिपर घोषित भए। भक्तपुर बार ‘ए’ का सत्यनारायण महर्जन सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बने भने सोही टोलीका राजपाल केसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी प्राप्त गरे।  

भक्तपुर बार एसोसिएसनका सचिव अनिश सुवालका अनुसार प्रतियोगिताले कानुन व्यवसायीबीच खेलकुदमार्फत आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाएको छ।

प्रकाशित: १० श्रावण २०८३ १९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App