खेल

ऐतिहासिक रात्रिकालीन खेलमा युएईसँग हार्‍यो नेपाल

नेपाली क्रिकेट इतिहासमै पहिलो पटक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गरिएको रात्रिकालीन अन्तर्राष्ट्रिय खेलमा नेपाल पराजित भएको छ।

सोमबार सम्पन्न ‘अन्डर लाइट टी-२० आई सिरिज’ को पहिलो खेलमा पाहुना टोली युएईले नेपाललाई ६ विकेटले हराउँदै दुई खेलको शृंखलामा १–० को अग्रता लिएको हो।

भारी वर्षाका कारण पहिलो इनिङ्सको अन्त्यतिर खेल रोकिएपछि डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा युएईले १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पाएको थियो।

उक्त लक्ष्य युएईले ८.५ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। युएईको जितमा कप्तान मोहम्मद वसिमले १५ बलमा ३३ रनको विष्फोटक इनिङ्स खेले भने अक्षदिप नाथले ८ बलमा १७ रन जोड्दै टोलीलाई ७ बल बाँकी छँदै जित दिलाए।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सानदार बलिङ गर्दै २ ओभरमा मात्र ८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। कुशल मल्लले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो।

नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३२ रनको धैर्यपूर्ण अविजित इनिङ्स खेले। यस्तै, कुशल मल्लले १७, कुशल भुर्तेलले १६ र बसिर अहमदले १४ रनको योगदान दिएका थिए।

बलिङतर्फ युएईका मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनेद सिद्दिकीले २ विकेट हात पारे। हैदर अली र मोहम्मद अर्फानको नाममा समान १–१ विकेट रह्यो।

प्रकाशित: ७ वैशाख २०८३ २०:४७ सोमबार