एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा युएईविरुद्ध १२२ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले कमजोर सुरुवात गरेको छ।
कतारको दोहामा जारी ५० ओभरको खेलमा ताजा अवस्थामा नेपालले ५ दशमलव २ ओभरमा २ विकेट गुमाएर २९ रन बनाएको छ।
लक्ष्य पछ्याउने क्रममा नेपालले ८ रन बनाउँदा नै लगातार दुई बलमा २ विकेट गुमायो। दोस्रो ओभरको पाँचौं बलमा ओपनर अर्जुन कुमाल ५ रन बनाएर आउट भए। १० बल खेलेका उनले १ चौका प्रहार गरे।
लगत्तै ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमै पेभिलियन फर्किए। दुवै ब्याटर युएईका मुहम्मद मोहसिनको बलमा विकेटकिपर अफ्ताब आलमबाट क्याच आउट भए।
सुरुवाती दबाबमा परेको नेपाली इनिङ्सलाई अहिले कुशल भुर्तेल र मयन यादवले सम्हालिरहेका छन्। तेस्रो विकेटका लागि उनीहरूले अविजित २१ रनको साझेदारी गरिसकेका छन्।
क्रिजमा रहेका कुशलले १० बलमा १ चौकासहित १० रन बनाएका छन् भने मयनले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेका छन्।
युएईका लागि बलिङतर्फ मुहम्मद मोहसिनले २ दशमलव २ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका छन्। अर्का बलर इब्रार अहमदले ३ ओभरमा १३ रन दिए पनि विकेट लिन सकेका छैनन्।
यसअघि पहिले ब्याटिङ गरेको युएई ३९ दशमलव ५ ओभरमा १२१ रन बनाएर अलआउट भएको थियो। युएईलाई सस्तैमा समेट्न नेपाली कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३ मेडन राख्दै मात्र ११ रन खर्चेर ३ तथा कुशल भुर्तेलले ५ ओभरमा २ मेडनसहित १५ रन दिएर ३ विकेट लिएका थिए।
यस्तै, राशिद खान, ललित राजवंशी र नन्दन यादवले १-१ विकेट हात पारेका थिए। युएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० र हरप्रीत सिंहले ३२ रन बनाएका थिए।
प्रकाशित: ६ मंसिर २०८३ १५:४९ आइतबार



