खेल

भुर्तेलको विष्फोटक शतक, मलेसियामाथि नेपालको सानदार जित

एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गतको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित दर्ता गरेको छ।

सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा बिहीबार भएको खेलमा कुशल भुर्तेलको विष्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपालले मलेसियालाई स्तब्ध पारेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल खडा गरेको थियो।

नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले मात्र ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै १२६ रनको सानदार शतकीय इनिङ खेले।

अर्का ओपनर आशिफ शेखले पनि आक्रामक ब्याटिङ गर्दै मात्र २४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ६८ रनको योगदान दिए।

नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दा लोकेश बमले १० रन बनाए। मलेसियाका तर्फबाट बलिङमा विरन्दीप सिंहले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।

२७६ रनको कठिन लक्ष्य पछ्याएको मलेसिया २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १०८ रनमा समेटियो। मलेसियाका लागि कप्तान सैयद अजिजले ४५ बलमा ५४ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

शर्विन मुनिआन्दीले १८ र मोहम्मद हाजिकैमानले १३ रन जोड्नु बाहेक अन्य खेलाडी दोहोरो अङ्कमा पुग्न सकेनन्।

मलेसियालाई सस्तैमा रोक्न नेपालका शेर मल्लाले घातक बलिङ गरे। उनले ४ ओभरमा १४ रन मात्र खर्चेर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कप्तान दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १-१ विकेट लिए।

प्रकाशित: २१ जेष्ठ २०८३ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App