इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले केरोन पोलार्डलाई टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
उनी महेला जयवर्द्धनेको स्थानमा मुख्य प्रशिक्षकको जिम्मेवारीमा देखिने भएका हुन्।
पोलार्डको मुम्बई इन्डियन्ससँगको सम्बन्ध नयाँ होइन। यसअघि उनी टोलीको ब्याटिङ प्रशिक्षकको जिम्मेवारीमा थिए।
मुम्बई इन्डियन्सकी सहमालिक नीता अम्बानीले पोलार्डको नियुक्तिप्रति खुसी व्यक्त गरेकी छन्। उनले पोलार्ड २२ वर्षको उमेरमै मुम्बई इन्डियन्ससँग जोडिएको र पछिल्लो १६ वर्षदेखि फ्रेन्चाइज परिवारको महत्त्वपूर्ण हिस्सा बनेको बताइन्।
उनले भनिन्, 'टोली व्यवस्थापनले पोलार्डको अनुभवले टोलीलाई अगाडि बढाउन र यसको विरासतलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ।'
मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि पोलार्डले यसलाई आफ्ना लागि सम्मानको विषय बताएका छन्। उनले मुम्बई इन्डियन्स टोली आफ्नो जीवन र करियरको महत्त्वपूर्ण हिस्सा रहेको बताए।
प्रकाशित: ७ कार्तिक २०८३ १३:१४ शनिबार



