खेल

विराटनगरमाथि काठमाडौंको ९ विकेटको एकपक्षीय जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले ६२ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर पूरा गर्‍यो।

यस सानदार जितसँगै काठमाडौं गोर्खाज अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ३ खेलबाट २ जितसहित ४ अङ्क जोडेको काठमाडौं नेट रनरेटका आधारमा दोस्रो स्थानमा पुगेको हो।

पराजित विराटनगर भने ५ खेलमा २ जित र ३ हारसहित ४ अङ्क भए पनि कमजोर रनरेटका कारण पाँचौं स्थानमा यथावत छ। तालिकाको शीर्ष स्थानमा लुम्बिनी लायन्स ७ अङ्कसहित रहेको छ।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंका लागि प्रारम्भिक ब्याटर डेभिड वार्नरले विस्फोटक इनिङ्स खेले। उनले मात्र २४ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ४४ रन बनाए। वार्नरले १८४.३३ को स्ट्राइक रेटमा रन जोड्दै टोलीलाई सहज जित दिलाए।

वार्नरसँगै अविजित रहेका विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन जोडे। यी दुई खेलाडीबीच दोस्रो विकेटका लागि अविजित ६९ रनको साझेदारी भएको थियो।

त्यसअघि तेस्रो ओभरमा ओपनर साहिल पटेल व्यक्तिगत १० रन बनाएर अपराजित पौडेलको बलमा बोल्ड आउट भएका थिए। विराटनगरका लागि अपराजितले मात्र १ विकेट लिन सके। अन्य कुनै पनि बलर चल्न सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्स काठमाडौंका बलरहरूको घातक बलिङसामु निरिह बन्दै १८.३ ओभरमा मात्र ८३ रनमा समेटिएको थियो। विराटनगरको सुरुआत निकै खराब रह्यो। टोलीले ९.४ ओभरमै ३५ रन जोड्दा आफ्ना ७ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।

विराटनगरका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका रूपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै अनुभवी ब्याटर एन्जेलो म्याथ्युजले ३१ बलमा १ चौकाको मद्दतले २२ रन जोडे।

म्याथ्युज र सिंहबीच आठौं विकेटका लागि भएको ३९ रनको साझेदारीले मात्र विराटनगरलाई ८० रनको आँकडा पार गराएको थियो। त्यसअघि बसिर अहमदले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

विराटनगरका ठूला विदेशी तथा स्वदेशी खेलाडीहरू पूर्ण रूपमा असफल रहे। ओपनर शेहान जयसूर्या ५ रन, लोकेश बम ६ रन र आन्द्रे रसेल मात्र ३ रन बनाएर पेभेलियन फर्किए।

इमरान शेख, नारायण जोशी र शुभम रन्जाने खाता नै नखोली शून्य रनमै आउट भए। कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहँदा अपराजित पौडेलले २ रन जोडे।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौं गोर्खाजका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सन्तोष यादवले किफायती बलिङ गर्दै ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए।

त्यस्तै कप्तान करण केसीले ४.३ ओभरमा १७ रन दिएर २ विकेट तथा सहान अराच्चिगेले २ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिए। जहाँदाद खान, शाहब आलम र देव शाहले समान १-१ विकेट हात पारे।

प्रकाशित: १९ कार्तिक २०८३ १९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App