आईपीएल २०२६ को सातौं खेलमा आज चेन्नई सुपर किंग्स (सीएसके) र पञ्जाब किंग्स (पीबीकेएस) बिच प्रतिस्पर्धा हुँदैछ। यो खेल शुक्रबार नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि चेन्नईको एम.ए. चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ। यो चेन्नईको घरेलु मैदानमा यो सिजनको पहिलो खेल हो।
चेन्नई सुपर किंग्सले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग ८ विकेटले हार बेहोरेको थियो। उनीहरू आज आफ्नो पहिलो जित हासिल गर्न उत्सुक छन्। त्यस्तै, पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले हराएर सिजनको सुरुवात राम्रो गरेको थियो। पञ्जाब आज दोस्रो जितको खोजीमा रहनेछ।
चेन्नई र पञ्जाबबिचको खेल सधैं रोमाञ्चक रहँदै आएको छ। यी दुई टोली आईपीएल इतिहासमा हालसम्म ३२ पटक आमने-सामने भएका छन्। जसमा चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स दुवैले १६-१६ जित हासिल गरेका छन्। कुनै खेल बराबरी वा नतिजाविहीन भएको छैन। पछिल्ला केही सिजनमा भने पञ्जाबले चेन्नईमाथि राम्रो प्रदर्शन गरेको छ।
सीएसकेका पूर्व कप्तान महेन्द्र सिंह धोनी र युवा ब्याट्सम्यान डेवाल्ड ब्रेभिस आईपीएलको सुरुवाती खेलहरूबाट बाहिर रहेका छन्। ब्रेभिस साइड स्ट्रेनको चोटबाट गुज्रिरहेका छन् भने धोनी मांसपेशी (क्याफ स्ट्रेन) को तनावका कारण रिह्याबमा छन्। दुवै खेलाडीले पहिलो खेल पनि खेलेका थिएनन् र यो खेलमा पनि उनीहरूको उपलब्धता अनिश्चित छ।
यो खेल चेन्नईको स्पिन-अनुकूल पिचमा हुनेछ, जसले दुवै टोलीका स्पिनरहरूलाई महत्वपूर्ण भूमिका दिन सक्छ। चेन्नई घरेलु मैदानमा बलियो फर्किने प्रयासमा छ भने पञ्जाबले आफ्नो जितको लय कायम राख्न चाहन्छ।
प्रकाशित: २० चैत्र २०८२ १२:२३ शुक्रबार



