खेल

‘पूर्वपति एक पैसा पनि कमाउँदैनथे, मेरो सम्पत्ति खान्थे’ भनेपछि भारतीय बक्सर मेरीको आलोचना

तस्बिर : इन्डिया टिभी

६ पटककी विश्व च्याम्पियन भारतीय बक्सर मेरी कोममाथि जुनियर बक्सरसँग अवैध सम्बन्ध रहेको गम्भीर आरोप लागेको छ। उनका पूर्वपति के ओन्लर कोमले यी आरोप लगाएका हुन्।

ओन्लरका अनुसार मेरी कोमले सन् २०१३ मा एक जुनियर बक्सरसँग सम्बन्ध राखेकी थिइन्, जसले परिवारमा झगडा निम्त्याएको थियो। तर पछि मिलाप भएको थियो। सन् २०१७ देखि मेरी कोम आफ्नो बक्सिङ एकेडेमीमा काम गर्ने एक पुरुषसँग सम्बन्धमा थिइन्। ‘मसँग उनीहरूका व्हाट्सएप सन्देशहरू र त्यो व्यक्तिको नाम प्रमाणका रूपमा छन्,’ ओन्लरले आईएएनएससँग भने।

मेरी कोम र ओन्लरले सन् २०२३ को डिसेम्बर २० मा कोम समुदायको परम्परागत कानुनअनुसार सम्बन्धविच्छेद गरेका थिए। सन् २०२५ मा यो कुरा सार्वजनिक भएको थियो। मेरी कोमले इन्डिया टिभीको ‘आप की अदालत’ कार्यक्रममा पूर्व पतिले धोका दिएको र आफ्नो कमाइबाट करोडौं ठगी गरेको आरोप लगाएकी थिइन्।

उनले भनेकी थिइन्, ‘उनी एक पैसा पनि कमाउँदैनथे। घरपरिवार मेरो आम्दानीबाट चल्थ्यो। मेरो बैंक खाता निकाल्दा खाली भेटियो। उनले मेरो नाममा ऋण लिए र सम्पत्ति आफ्नो नाममा हस्तान्तरण गरे।’ मेरी कोमले ओन्लरको सफल करियर नभएको र सडकमा फुटबल खेल्ने गरेको बताएकी थिइन्। ‘कस्तो सफल करियर? उनी सडकमा फुटबल खेल्थे। साँचो भन्नुपर्दा, उनी एक रुपैयाँ पनि कमाउँदैनथे। केही पनि गरेनन्, कहाँ के बलिदान गरे ? साँझ-बिहान सुतिरहन्थे,’ उनले भनेकी थिइन्।

ओन्लरले यी आरोप खारेज गर्दै भने, ‘मलाई प्रयोग गरेर फालियो। मैले उनको करियरमा सहयोग गरेँ, बच्चाहरू हुर्काएँ, घर चलाएँ। उनी कमाउने थिइन्, म घरमा बसेँ, तर यो प्रेमका कारण थियो। परम्परागत लिंग भूमिका उल्टो थियो, तर मैले यो स्वीकार गरेको थिएँ। मैले यूपीएससी परीक्षाको तयारी गरिरहेको थिएँ र शिलाङको उत्पादन शुल्क तथा भन्सार विभागमा अनुबन्धित फुटबल खेलाडी थिएँ। उनको सपना पूरा गर्न मैले आफ्नो करियर त्यागेँ। म उनको ड्राइभर, भान्से सबै थिएँ। म दास जस्तो बाँचेँ, तर यो प्रेमका लागि थियो।’

ओन्लरले मेरी कोमले राजनीतिमा प्रवेश गर्न दबाब दिएको र चुनावमा करोडौं खर्च गरेको पनि बताएकी छिन्। सन् २०१६ मा मेरी कोम राज्यसभामा मनोनीत भएकी थिइन्। सामाजिक सञ्जालमा धेरैले मेरीलाई घरेलु पतिको अपमान गरेको भन्दै आलोचना गरेका छन्। कतिपयले उनको पक्ष लिएका छन्।

प्रकाशित: ३ माघ २०८२ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App