खेल

आइसिसीले फेर्यो विश्वकपको संरचना, अब ‘सुपर एट’ को सट्टा ‘सुपर १०’ हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० र एकदिवसीय विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्दै सहयोगी राष्ट्रका लागि थप अवसर सिर्जना गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले सन् २०२८ देखि लागू हुने नयाँ संरचना अनुमोदन गरेको हो।

नयाँ ढाँचाअनुसार टी–२० विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीको संख्या आठबाट बढाएर १० पुर्‍याइनेछ। यसले नेपाल, स्कटल्यान्ड, नामिबिया, अमेरिका जस्ता उदीयमान क्रिकेट राष्ट्रहरूलाई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।

हाल प्रयोग हुँदै आएको ‘सुपर एट’ प्रणाली हटाएर ‘सुपर १०’ लागू गरिनेछ। सुरुआती चरणमा २० टोलीलाई चार–चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

दोस्रो चरणमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको विजेता सिधै सेमिफाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच क्रसओभर इलिमिनेटर खेल हुनेछ। यस व्यवस्थाले अन्तिम चारमा पुग्ने प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाउने आईसीसीको विश्वास छ।

प्रतियोगिताको खेल तालिकामा पनि परिवर्तन गरिएको छ। समूह चरणका खेलको संख्या घटाइए पनि दोस्रो चरणका खेल बढाइएका छन्। साथै, इलिमिनेटरका अतिरिक्त खेल थपिएपछि अन्तिम चरणसम्म हरेक खेलको महत्व कायम रहने अपेक्षा गरिएको छ।

आईसीसीले सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ छनोट प्रणाली पनि स्वीकृत गरेको छ। क्षेत्रीय छनोटमार्फत अधिकांश स्थान निर्धारण गरिनेछ भने ग्लोबल क्वालिफायरमार्फत अन्तिम टोली छनोट हुनेछन्। यसले विभिन्न क्षेत्रका सहयोगी राष्ट्रबीच प्रतिस्पर्धा अझ तीव्र बनाउने देखिएको छ।

यस्तै, सहयोगी सदस्य राष्ट्रका लागि १६ टोली सहभागी हुने छुट्टै विश्वस्तरीय प्रतियोगिता आयोजना गर्ने प्रस्तावलाई पनि बोर्डले समर्थन गरेको छ। टी–२० विश्वकपअघि आयोजना गर्ने लक्ष्य राखिएको उक्त प्रतियोगिताले टेस्ट राष्ट्रबाहेकका टोलीलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउने विश्वास गरिएको छ। यद्यपि, यसको अन्तिम निर्णय आगामी नोभेम्बरमा हुने आईसीसी बोर्ड बैठकबाट हुनेछ।

त्यसैगरी, १४ टोली सहभागी हुने पुरुष एकदिवसीय विश्वकपमा पनि ‘सुपर सिरिज’ नामक नयाँ चरण थप्ने निर्णय गरिएको छ। आईसीसीका अनुसार यसले सुरुआती चरणका खेललाई समेत निर्णायक बनाउँदै प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर बढाउनेछ।

आईसीसीको यो निर्णयले विश्व क्रिकेटमा स्थापित राष्ट्रसँगै सहयोगी सदस्य राष्ट्रलाई पनि थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। विशेषगरी नेपालजस्ता उदीयमान क्रिकेट राष्ट्रका लागि नयाँ ढाँचाले विश्वकपको गहिरो चरणसम्म पुग्ने सम्भावना पहिलेभन्दा अझ बढाएको विश्लेषण गरिएको छ।

प्रकाशित: ३१ असार २०८३ १६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App