खेल

मेस्सी होइन, माइलीका कारण विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्छु : इजरायली प्रधानमन्त्री

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफू फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले जितोस् भन्ने चाहने बताएका छन्।

सामान्यतया विश्वकपमा धेरैले टोलीका कप्तान लियोनेल मेस्सीको कारण अर्जेन्टिनालाई समर्थन गर्ने भए पनि नेतान्याहूको कारण भने फरक छ। 

इजरायली हास्य कलाकार बेन बेन बारुचद्वारा आयोजित 'द मोजो पोडकास्ट' मा सहभागी हुँदै नेतान्याहूले आफूले अर्जेन्टिनालाई समर्थन गर्नुको मुख्य कारण राष्ट्रपति जाभियर माइली भएको बताएका हुन्। पोडकास्टका होस्टले नेतान्याहूलाई विश्वकपमा कुन टोलीको समर्थन गर्नुहुन्छ भनी सोधेका थिए। जवाफमा नेतान्याहूले आफूले अर्जेन्टिनालाई हेरिरहेको बताए। होस्टले 'मेस्सी?' भनी प्रश्न गर्दा नेतान्याहूले सो कुरालाई अस्वीकार गर्दै भने, 'होइन, मेस्सीभन्दा पहिले, माइली। उनी एक सुपरस्टार हुन्।'

नेतान्याहूले माइलीको प्रशंसा गर्दै अगाडि भने, 'उनी एक स्टार हुन्। उनी साँच्चै स्वतन्त्र अर्थतन्त्र अपनाएर अगाडि बढेका छन्। माइली इजरायलको एक महान मित्र हुन्।' कुराकानीका क्रममा उनले हल्का ठट्टा गर्दै अर्जेन्टिनाका राष्ट्रपतिलाई फुटबल खेलाडीसँग पनि तुलना गरेका छन्। माइलीको उमेर र अनुभवलाई उल्लेख गर्दै उनले अर्जेन्टिना यस्तो अनुभवी खेलाडी भएकोमा भाग्यशाली छ भने।

यद्यपि, उनले मेस्सीको खेल कौशललाई पनि बिर्सेका छैनन्। कुराकानीमा उनले आफूले पहिले एक खेलका सिलसिलामा इजरायल भ्रमणको क्रममा मेस्सीलाई भेटेको सम्झना पनि गरेका थिए। उनले अर्जेन्टिनासँग धेरै राम्रो टोली भएको पनि स्वीकार गरे। माइलीले राष्ट्रपति पदभार ग्रहण गरेदेखि नै इजरायलको लागि खुलेर समर्थन व्यक्त गर्दै आएका छन्।

आइतबार अर्जेन्टिना र स्विट्जरल्याण्डबिच २०२६ फिफा विश्वकपको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ। यो महत्त्वपूर्ण नकआउट खेल मिसौरीको कान्सास सिटी स्टेडियम (एरोहेड स्टेडियम) मा बिहान ६:४५ बजे हुनेछ। 

साविक विश्व विजेता अर्जेन्टिना इजिप्टलाई ३-२ ले हराएर र स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन्।

प्रकाशित: २७ असार २०८३ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App