खेल

गौतमबुद्ध क्रिकेट रङ्गशालाको भौतिक प्रगति ३० प्रतिशत, छिटो सकाउन दबाब

भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ३० प्रतिशत सम्पन्न भएको छ । संघीय, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण भइरहेको रंशगालाको काम साउन २५ गतेसम्म भौतिक प्रगति ३० प्रतिशत भएको महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।  

‘निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्ने थियो,’ उनले भने ‘हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । यद्यपि हामीले समयमा सम्पन्न गछौँ।’ हिमालयन–कालिन्चोक–बिबिआर ज्वाइन्टभेन्जरले विसं २०८१ असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०८३ पुस २२ गतेभित्र रंगशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । अगामी १७ महिनामा ७० प्रतिशत काम सकिने उनले बताए।

सम्झौता भएको एक वर्ष पुग्दासम्म भिआइपी टावर १ को पहिलो तलाको ढलान मात्र सम्पन्न भएको छ भने दोस्रो टावरको पहिलो तलासमेत ढलान हुन बाँकी छ ।  

प्यारापिटतर्फ, पहिलो प्यारापिटको ढलान सकिएको छ । दोस्रो प्यारापिटको पहिलो ब्लकको मात्रै ढलान सम्पन्न भएको छ । थप दुई ब्लकमा बल्ल रड बाँध्ने काम भइरहेको छ । पानी निकासका लागि निर्माण गरिएको ड्रेनेजमा ढकन राख्ने काम पनि अझै अधूरो छ ।  

हालसम्म करिब आधा मात्रै सम्पन्न भएको छ । मैदान निर्माणको काम एक वर्षभित्र सुरू गर्ने भनिए पनि त्यसमा कुनै प्रगति देखिएको छैन । निर्माण कार्यमा ढिलाइ हुँदा संघीय सरकारको ६ करोड रुपैयाँ फिर्ता गएको वरिष्ठ इन्जिनियर आचार्यले बताए । बागमती र भरतपुरको आन्तरिक बजेट भएकाले फ्रिज नहुने उनको भनाई छ । उनका अनुसार कामले तीव्रता पाएको छ । ‘काम रोकिएको छैन । धमाधम नै भएको छ,’ उनले भने ‘हामीले लक्ष्यमा नै सम्पन्न गछौँ।’

कामलाई तीव्रता दिन पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ठेकेदार पक्षलाई अनुरोध गरेका छन् । शनिबार निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा पुगेर उनले अनुरोध गरेका हुन् । जसमा हिमालयन–कालिन्चोक–बिबिआर ज्वाइन्टभेन्जरका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । आचार्यका अनुसार, प्रचण्डले आवश्यक सहयोगका लागि आफू तयार रहेको भन्दै काम समयमै सम्पन्न गर्न अनुरोध गरेका थिए ।  

पहिलो चरणमा सङ्घीय सरकारले २५ करोड, प्रदेशको १० करोड र भरतपुर महानगरपालिकाको ४ करोड रुपैयाँ बजेटमा रंगशाला निर्माण गर्न लागिएको हो ।  

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई संघीय सरकारले ‘गौरवको आयोजना’मा समेटेको छ । परियोजनाको वित्तीय साझेदारीअनुसार बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च बेहोर्ने सहमति छ ।  

अवधिमा १५ हजार दर्शक क्षमताको प्याराफिट, दुई वटा तीन तले भिआइपी टावर तथा खेल मैदान निर्माण गरिनुपर्नेछ।

२०७५ साल माघ १६ गते राजधानीको राष्ट्रिय सभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा गरिएको थियो। जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका तत्कालीन महामन्त्री शशांक कोइराला सहित उच्च पदस्थ व्यक्तिको  विशेष उपस्थिति समेत थियो।

तर, जति उल्लासपूर्ण वातावरणमा घोषणा गरिए पनि सोचेजस्तो भएन । धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने भनिए पनि कोरोना महामारीपछि आर्थिक अभावका कारण देखाउँदै धुर्मुस सुन्तली फाउण्डेशनले बिचमै छाड्नुपरेको थियो । त्यसपछि विविध कानुनी अल्झन सुझाएर महानगरपालिकाले रंगशाला निर्माणमा सक्रियता देखाएको थियो । रंगशाला निर्माण गर्दा लागेको १२ करोड ऋण लागेकाले भुक्तानीका लागि फाउण्डेशनले सरकारलाई अनुरोध गरेको छ । तर, कानुनी पक्रिया पुरा नगरेका कारण ऋण भुक्तानी गर्न नमिल्ने सरकारले बताएको छ ।  

त्यतिखेर प्यारापिटका २ सय ८६ वटा पिलर र ५ हजार दर्शक अट्ने प्याराफिट उठाएको थियो । फाउण्डेशनले ५४ करोड खर्च भएको विवरण महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । त्यतिखेर ३० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्ने भनिएको थियो । पछि घटाएर पहिलो चरणमा १५ हजार बनाउने निर्णय महानगरले गरेको हो । सन् २०२७ मा नेपालमा हुने अन्डर–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध क्रिकेट रंगशालामा गर्ने लक्ष्य महानगरपालिकाले समेत राखेको छ ।  

प्रकाशित: २६ श्रावण २०८२ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App