खेल

दसौं राष्ट्रिय खेलकुद: पौडीमा चार राष्ट्रिय कीर्तिमान

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ कीर्तिमान बनेका छन्। पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अथर्व सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।  

नेपालगन्जस्थित पौडी पोखरीमा जारी पौडीको प्रतिस्पर्धामा सुदूरपश्चिमका अथर्वले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे। यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो। अथर्वले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७.५७ सेकेन्ड) र बागमतीका अरिक कर्माचार्यले कांस्य पदक (५ मिनेट २६.९९ सेकेन्ड) जिते।

महिलातर्फको ८०० मिटर फ्रिस्टायलमा लिली बोहराले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छन्। यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुआना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो। लिलीले स्वर्ण जित्दा डुआनाले आफ्नै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा दूरी पूरा गरिन्। डुआनाले रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्डसहित कांस्य पदक जिते।

बागमतीका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते। यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए। प्रधानले स्वर्ण जित्दा बागमतीका रिभान्तबहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्डसहित रजत र आर्मीका जादेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्डसहित कांस्य पदक हासिल गरे।  

नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ। यसअघि सन् २०१६ मा मनीष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२. १३ सेकेन्डको नयाँ कीर्तिमान बनाए।

महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएकी मिखा काया थापाले स्वर्ण पदक (३०.७८ सेकेन्ड), पुलिसकी देभान्सी जोशीले रजत (३२.८८ सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे।

५० मिटर पुरुष बटरफ्लाईमा बागमतीका अभिव प्रधानले स्वर्ण (२६.०७ सेकेन्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२७.१४ सेकेन्ड), आर्मीका खेलाडीद्वय सौरेनबहादुर सिंह र असीम भण्डारीले कांस्य पदक जिते। २०० मिटर महिला फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले स्वर्ण (२ मिनेट १४.०३ सेकेन्ड), आर्मीकी डुआना लामाले रजत (२ मिनेट १४.४२ सेकेन्ड) र एनआरएनएकी मिखाकाया थापाले कांस्य (२ मिनेट १९.६८ सेकेन्ड) पदक जिते।

२०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले (१ मिनेट ५९.४८सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले रजत (२ मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिन महर्जनले कांस्य (२ मिनेट ०५.०० सेकेन्ड) पदक हासिल गरे।

१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले स्वर्ण (१ मिनेट ११.९५सेकेन्ड), एनआरएनएकी मिखाकाया थापाले रजत (१ मिनेट १३.६२ सेकेन्ड) र बागमतीकी रोयल प्रजापतिले कांस्य (१ मिनेट १४.४३ सेकेन्ड) हासिल गरे।

४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट ०५.६९सेकेन्ड), पुलिसले रजत (५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कांस्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक प्राप्त गरे। मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट ०२.४६ सेकेन्ड) आर्मीले रजत (२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कांस्य पदक (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेका छन्।

दोस्रो दिनसम्म आइपुग्दा अंकतालिकामा बागमती ९ स्वर्ण, ४ रजत, ६ कांस्य गरी कुल १९ पदकसहित शीर्ष स्थानमा छ भने एनआरएनए ६ स्वर्ण, १ रजत र २ कांस्य गरी कुल ९ पदकसहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कांस्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छन्।

चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कांस्य पदक प्राप्त गरेको छ भने पाँचौ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक प्राप्त गरेको छ। कोसी प्रदेश १ स्वर्णसहित पदकतालिकाको छैटाैं स्थानमा छ। राष्ट्रिय  खेलकुदअन्तर्गत दोस्रो दिनसम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेका छन्।  

प्रकाशित: १० मंसिर २०८३ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App