नामिबियाका कप्तान जेर्हाड इरसमसले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।
काठमाडौं स्पोटर्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यस सिजनको एनपिएलका लागि दोस्रो विदेशी खेलाडीको रूपमा इरसमसलाई भित्र्याएको हो। उनी सन् २०१९ देखि नामिबिया क्रिकेट टोलीका कप्तान हुन्। इरसमस सन् २०२३ र २०२४ मा आइसिसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर भएका थिए।
इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग–२ को खेलमा २८ रन खर्चेर पाँच विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो। यही प्रदर्शनका कारण उनी वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पनि भए।
उनले सो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए। वेस्ट इन्डिजमा भएको टी ट्वान्टी विश्वकपमा उनले स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए। इरसमसले वर्ष २०२४ मा टी ट्वान्टी अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए। काठमान्डु गोर्खाजसँग उनी परिचित छन्। एनपिएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजबाट उपकप्तानको भूमिकामा सानदार प्रदर्शन गरेका थिए। उनले सात खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाए। साथै ११.९० को औसतमा ११ विकेट लिएका थिए।
काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाहीले गत सिजन इरसमसले उत्कृष्ट खेलेको र यो वर्ष अझ राम्रो खेल्नेछन् भन्ने विश्वास व्यक्त गरे। ‘इरसमस राम्रा लिडर पनि हुन्। उनी हुँदा हाम्रो टिमलाई फाइदा पुगेको थियो। मैदानभित्र उनले खेलाडीलाई निकै एक्टिभ बनाएर राख्छन्। उनी एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउन्डर र उत्कृष्ट फिल्डर हुन्। उनीजस्ता खेलाडी टिममा हुँदा प्रभावकारी हुने अपेक्षा राखेको छु,’ प्रशिक्षक शाहीले भने । ३० वर्षे इरसमसले नामिबियाबाट ६३ खेलमा दुई शतक र १७ अर्धशतकका साथ एक हजार एक सय ७८ एकदिवसीय अन्तर्राष्ट्रिय रन बनाएका छन्।
यसमा उनले ३८.२१ को औसतमा रन बटुलेका छन्। उनले ७७ टी ट्वान्टी अन्तर्राष्ट्रियमा एक शतक र १३ अर्धशतक बनाएका छन्। टी ट्वान्टीमा १२४ माथिको स्ट्राइक रेटमा उनले एक हजार आठ सय ३३ रन बनाइसकेका छन्। उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट युएईको आइएल टी ट्वान्टी पनि खेल्दै आएका छन्। काठमान्डु गोर्खाजले आगामी सिजनको एनपिएलका लागि भिœयाइएका उनी दोस्रो विदेशी खेलाडी हुन् । काठमान्डुले यसअघि दक्षिण अफ्रिकामा जन्मिएका र हाल इङ्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई लिइसकेको छ।
प्रकाशित: १३ कार्तिक २०८२ ०९:५९ बिहीबार



