भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट सन्यास लिएका छन्। उनले करिब १९ वर्ष लामो आईपीएल करियरबाट सन्यास लिने निर्णय गरेका हुन्।
चेन्नई सुपर किंग्स (सीएसके) ले उनलाई टोलीको मेन्टरको जिम्मेवारी दिने तयारी गरेको छ।
आईपीएलमा धोनीले २७८ खेल खेल्दै ५ हजार ३१४ रन बनाएका छन्। उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँच पटक आईपीएल र दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधि जितेको थियो।
धोनीले आफ्नो आईपीएल करियरका १७ सिजन चेन्नई सुपर किंग्सबाट खेलेका छन्। टोलीमाथि प्रतिबन्ध लागेका कारण सन् २०१६ र २०१७ मा भने उनले राइजिङ पुणे सुपरजायन्टको प्रतिनिधित्व गरेका थिए।
धोनीले २०२६ को आईपीएलमा भने चोटका कारण चेन्नईका लागि एक खेल पनि खेल्न सकेनन्। त्यसअघि २०२५ को सिजनमा उनले १४ खेल खेल्दै १९६ रन बनाएका थिए।
सीएसकेका मालिक एन. श्रीनिवासनले धोनीको योगदानको प्रशंसा गर्दै उनी बिना चेन्नई सुपर किंग्सको कल्पना गर्न नसकिने बताए।
उनले भने, ‘धोनीबिना सीएसकेको कल्पना गर्न सकिँदैन। उनी झन्डै २० वर्षदेखि हामीसँग छन्।’
सन् २००८ मा आफूले नै धोनीलाई चेन्नईको टोलीमा भित्र्याउन सुझाव दिएको स्मरण गर्दै श्रीनिवासनले त्यो आफ्नो जीवनकै उत्कृष्ट निर्णयमध्ये एक भएको बताए।
प्रकाशित: १ मंसिर २०८३ १६:३१ मंगलबार

-600x400.jpg)

