नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरण गर्ने तयारी गरेको छ ।
क्यानको सोमबारको बैठकबाट त्रिवि क्रिकेट मैदानको सम्झौता नवीकरण गर्ने समझदारी भएको क्यानले जनाएको छ ।
बैठकपछि क्यानका प्रवक्ता छुम्बी लामाले त्रिवि मैदानको नवीकरण गर्ने तय भएको बताए । उनले नागरिकसँग भने, ‘हामीले भर्खरै सम्पन्न बोर्ड बैठकले त्रिवि मैदानसँगको सम्झौता नवीकरण गर्ने निर्णय गरेका छौँ । अब राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयलगातायका सरोकारवाला निकायलाई पत्र पठाउँनेछौँ।’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान प्रयोगका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ । सम्झौता नवीकरणका विषयमा दुवै पक्षबीच असमझदारी हुँदा विवाद देखिएको थियो ।
क्यानले यो मैदानमा राज्यको ठूलो लगानी भइसकेको र नेपाली क्रिकेटको मुख्य केन्द्र भएकोले सम्झौता नवीकरण हुनुपर्ने तर्क गर्दा त्रिवि प्रशासनले विभिन्न सात बुँदे माग अघि सार्दै सम्झौता पुनरावलोकन गर्नुपर्ने बताएको थियो । मैदान भाडाको सम्झौतालाई पुनरावलोकन गरी मैदानबाट हुने आम्दानी तथा रोयल्टीमा त्रिभुवन विश्वविद्यालयलाई पनि भागीदार बनाई त्रिविको खेलकुद विज्ञान विभाग तथा खेलकुद विकासका लागि प्रयोग हुनुपर्नेसहितका सात माग राखेको त्रिविले नवीकरण वा वैकल्पिक सोच बनाउने संकेत गरेको थियो ।
सरकारले त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने नीति लिएको छ । मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको छ ।
त्रिवि र क्यानबीच सुरुका तीन वर्षमा वार्षिक तीन लाख रुपैयाँ र त्यसपछि केही रकम वृद्धि हुने गरी मैदान सञ्चालनको सम्झौता भएको थियो ।
यो पनि पढ्नुहोस्
त्रिवि क्रिकेट मैदानको सम्झौता वैशाखमा सकिँदै: नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय, अब के हुन्छ?
प्रकाशित: २३ चैत्र २०८२ १८:२३ सोमबार



