खेल

पाकिस्तानी खेलाडीविरुद्ध बिसिसिआईको उजुरी

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले एसिया कपको खेलका क्रममा मैदानमा गरेको गतिविधिका कारण पाकिस्तानी खेलाडी हरिस रौफ र साहिबजादा फरहानमाथि उजुरी गरेको छ।

दुबईमा गत आइतबार एसिया कपको सुपर फोरको खेलका क्रममा रौफ र साहिबजादाले समर्थकहरू उत्तेजित बनाउने किसिमको सेलिब्रेसन गरेको बिसिसिआईको आरोप छ। यसको विरुद्धमा बिसिसिआईले दुई पाकिस्तानी खेलाडीमाथि आइसिसीमा उजुरी गरेको हो।

बिसिसिआईले इमेल मार्फत बुधबार नै उनीहरूविरुद्ध उजुरी दर्ता गराएको र आइसिसीले त्यसलाई स्वीकृत पनि गरेको उल्लेख छ तर फरहान र रौफले उक्त आरोप अस्वीकार गरेमा आइसिसीको सुनुवाई समितिले त्यसविरुद्ध छानबिन गर्नेछ। भारतविरुद्धको दोस्रो खेल रिची रिचर्डसनले खेलाएका थिए। पाकिस्तानले पहिलो खेलको म्याच रेफ्री एन्डी पेक्रफ्टलाई एसिया कपबाट नै हटाउन माग गरेको थियो।

भारतीय खेलाडीले हात मिलाउन नमानेको घटनामा पाकिस्तानले म्याच रेफ्री एन्डीलाई पनि दोषी मानेको छ। यद्यपि, दोस्रो खेलमा पनि भारतीय खेलाडीले हात मिलाएनन्। पाकिस्तानी खेलाडीले पनि विकेट लिँदा या रन जोड्दा उत्साहपूर्वक सेलिब्रेसन गरेका थिए। केही सेलिब्रेसन दर्शकतर्फ पनि इसारा गरिएको भारतको आरोप छ। यसले दुई देशको राजनीतिक रूपमा मात्र नभएर खेलकुदमा पनि द्वन्द्व छेडेको छ।

फरहानले अर्धशतक बनाउँदा र रौफले बाउन्ड्री लाइनमा क्याच समाउँदै दर्शकतर्फ इंगित गर्दै सेलिब्रेसनले गरेको र त्यसलाई खेलको माहोल बिग्रन सक्ने बिसिसिआईले आरोप लगाएको छ।

दुई देशबीच ठूलो द्वन्द्व रहेको आभास हुने भिडियो सोही दिन नै सामाजिक सन्जालमा फैलिएको थियो। भारतका सहायक प्रशिक्षक रयान टेन डसचाटेले उक्त खेलमा खेलाडीहरूको व्यवहारलाई नियन्त्रणमा राख्न नै कठिन भएको प्रतिक्रिया दिए। ‘मैले हेरिसबाट केही भएको देखेको थिएँ तर त्यो हाम्रो विषय होइन। यसअघि नै मैले भनिसकेको छु, हाम्रा खेलाडीको प्रदर्शनबाट हामी धेरै खुसी छौं। उनीहरूले धेरै राम्रो खेलेका छन्। ब्याटिङ र बलिङमा भारतले उत्कृष्ट गरेको छ,’ हेरिसको गतिविधिबारे प्रश्न गर्दा रयानले भने, ‘अन्य टोलीमा समस्या देखिएको छ तर हाम्रा खेलाडीले धेरै राम्रो खेलिरहेका छन् । त्यसैले यसलाई जारी राख्न आग्रह गर्दछु।’

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पनि भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवमाथि आइसिसीमा उजुरी दर्ता गराएको छ। पाकिस्तानविरुद्ध सेप्टेम्बर १४ मा पहिलो खेल जितेपछि सूर्यकुमारले यो जित गत अप्रिलमा पहलगाममा आतंकवादी हमलाबाट निधन भएका परिवारप्रति समर्पित गरेका थिए। यसले भारत र पाकिस्तानबिच सीमाको विषयमा भएको युद्धलाई पनि इंगित गर्दछ। त्यसैले सूर्यको उक्त भनाइलाई पिसिबीले राजनीतिको संज्ञा दिँदै उजुरी दर्ता गराएको हो। ‘यो जित सबै बहादुर सैनिकप्रति समर्पित गर्न चाहन्छु। खेलको मैदानबाट हामीले थोरै भए पनि खुसी दिएको महसुस भएको छ,’ सूर्यकुमारले म्याच प्रिजेन्टेसन सेरमनीमा भनेका थिए।

उनको त्यो भनाइ भारतीय सञ्चारमाध्यममा हेडलाइन समेत बन्यो। कप्तानले खेलअगाडि र खेलपछि पनि दुई देशका खेलाडीबीच हात नमिलाएपछि तनाव बोर्डरमा मात्र सीमित भएन। एसिया कपको खेलभन्दा बढी भारत र पाकिस्तानबीचको द्वन्द्वबारे चर्चा भइरहेको छ। पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी, भारतका ओपनर अभिशेक शर्मा र शुभमन गिलहरूले पनि एकआपसमा मैदानमा नै भनाभनको स्थिति पनि देखिएको छ।  

प्रकाशित: १० आश्विन २०८२ ०८:३० शुक्रबार