नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
रोनाल्ड कोएम्यानले निराशाजनक विश्वकपपछि पदबाट राजीनामा दिएपछि नेदरल्यान्ड्सले ४६ वर्षीय जाभीलाई जिम्मेवारी दिएको हो। चार दशक पछि नेदरल्यान्ड्सले पहिलाे पल्ट विदेशी प्रशिक्षण पाएकाे छ।
जाभीले सन् २०२४ मा बार्सिलोनाको प्रशिक्षक पदबाट हटाइएपछि करिब दुई वर्षपछि व्यवस्थापनमा पुनरागमन गरेका हुन्। उनले नेदरल्यान्ड्ससँग चार वर्षको सम्झौता गरेका छन्। अब उनले सन् २०२८ को युरोपियन च्याम्पियनसिप र सन् २०३० को विश्वकपसम्म टोली सम्हाल्नेछन्।
जाभीले नियुक्तिपछि नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बन्न पाउनु ठूलो सम्मान भएको बताएका छन्। बार्सिलोनाको एकेडेमीबाट प्रशिक्षण पाएका कारण आफू डच फुटबलसँग विशेष सम्बन्ध महसुस गर्ने उनको भनाइ छ।
उनले जोहान क्रुफ र रिनुस मिखेल्सको प्रभावबाट आफूले धेरै कुरा सिकेको उल्लेख गर्दै लुइस भान गाल र फ्रांक रिजकार्डले पनि आफ्नो खेलाडी तथा प्रशिक्षक करियर निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
संयोगवश, जाभीले सन् २०२१ मा बार्सिलोनाको प्रशिक्षक बन्दा पनि कोएम्यानकै स्थान लिएका थिए। उनको नेतृत्वमा बार्सिलोनाले अर्को सिजन चार वर्षपछि पहिलोपटक ला लिगाको उपाधि जितेको थियो।
यसपटक भने जाभीको चुनौती नेदरल्यान्ड्सलाई ठूलो उपाधि दिलाउनु हुनेछ। पछिल्लो विश्वकपमा नेदरल्यान्ड्सको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन र उत्तर अमेरिकामा भएको प्रतियोगिताको अन्तिम ३२ को चरणबाटै मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो।
जाभीले नेदरल्यान्ड्सको आक्रामक र बल पोसेसनमा आधारित फुटबलको शैली आफूलाई निकै मन पर्ने बताएका छन्। उनका अनुसार टोलीको सबैभन्दा ठूलो लक्ष्य जित्नु नै भए पनि त्यो आक्रामकता, सिर्जनशीलता, जोश र आत्मविश्वास झल्किने शैलीमा हासिल गर्नुपर्नेछ।
प्रकाशित: २८ श्रावण २०८३ ०९:०९ बिहीबार
-600x400.jpg)


