खेल

अर्जेन्टिना र अस्ट्रिया भिड्दै, आज पनि चल्ला मेस्सीको जादु ?

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा डिफेन्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दैछ। डलास स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ।

समूह जे अन्तर्गतको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ। यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ।

पहिलो खेलमा अल्जेरियामाथि प्रभावशाली जित हासिल गरेका अर्जेन्टिना कप्तान लियोनेल मेस्सीको नेतृत्वमा लगातार दोस्रो सफलता खोजिरहेका छ। अनुभवी स्टार मेस्सीले उद्घाटन खेलमा जादुमयी खेल खेलेका थिए। उनले विश्वकपमा पहिलो ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट लय कायम राखेका थिए। जसले अर्जेन्टिनालाई उपाधि रक्षा अभियानमा बलियो सुरुआत दिलाएको थियो।

३८ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा दुई दशकभन्दा लामो यात्रालाई निरन्तरता दिँदै टोलीका लागि निर्णायक भूमिका खेलिरहेका छन्। उनको प्रदर्शनले उमेर केवल संख्या मात्र भएको सन्देश फेरि एकपटक दिएको छ। आजको खेलमा पनि मेस्सीको जादु चल्ने अपेक्षा गरिएको छ।

यता, पहिलो खेलमा जोर्डनलाई पराजित गरेको अस्ट्रिया पनि उच्च आत्मविश्वासमा मैदान उत्रने तयारीमा छ। प्रशिक्षक राल्फ रंगनिकको टोलीले संगठित र आक्रामक खेलमार्फत दक्षिण अमेरिकी दाबेदार अर्जेन्टिनालाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।

अस्ट्रियाका कप्तान डेभिड अलाबाले अर्जेन्टिनाको शक्ति केवल मेस्सीमा सीमित नभएको उल्लेख गर्दै सम्पूर्ण टोलीविरुद्ध सावधानी अपनाउनुपर्ने बताएका छन्। उनका अनुसार अर्जेन्टिनाको सामूहिक खेल नै टोलीको सबैभन्दा ठूलो बल हो।

अर्जेन्टिनाका सहायक प्रशिक्षक पाब्लो आइमारले पनि अस्ट्रियालाई बलियो र प्रतिस्पर्धी टोलीको रूपमा चित्रण गर्दै खेल सहज नहुने बताएका छन्। उनले अस्ट्रियाको शारीरिक रूपमा मजबुत र दबाब सिर्जना गर्ने शैलीले चुनौती थप्ने उल्लेख गरे।

समूह जे मा अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया र जोर्डन रहेका छन्। पहिलो खेलपछि अर्जेन्टिना र अस्ट्रिया समान तीन–तीन अंकसहित शीर्ष दुई स्थानमा छन्। गोल अन्तरका आधारमा अर्जेन्टिना अग्रस्थानमा रहेको छ।

यसअघि अर्जेन्टिना र अस्ट्रिया प्रतिस्पर्धात्मक खेलमा आमनेसामने भएका छैनन्। दुवै टोलीबीच भएका दुई भेट भने मैत्रीपूर्ण खेलमा सीमित छन्, जसमा अर्जेन्टिनाले एक खेल जितेको र अर्को बराबरी खेलेको थियो।

आजको खेल केवल तीन अंकको प्रतिस्पर्धा मात्र नभई समूह विजेताको दौडमा महत्वपूर्ण मोड साबित हुन सक्छ।

प्रकाशित: ८ असार २०८३ १४:१० सोमबार