साविक विजेता अर्जेन्टिनाले बुधबार अल्जेरियासँग खेल्दै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्दैछ । मिसौरी राज्यस्थित कन्सास रंगशालामा हुने समूह ‘जे’ अन्तर्गतको यो खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ । उता अल्जेरियाको लक्ष्य भने आफ्नो इतिहासमा दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।
अमेरिका विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औं सहभागिता हो । लियोनेल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान हासिल गर्दै उत्तर अमेरिकाको टिकट सुरक्षित गरेको थियो । यस यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी ब्राजिललाई ४–१ ले पराजित गरेको थियो ।
अर्जेन्टिनाले १८ खेलबाट कुल ३८ अंक जोडेको थियो । कप्तान मेसी आठ गोलसहित टोलीका उच्च गोलकर्ता बने ।
छनोट प्रतियोगितापछि अर्जेन्टिनाले सात अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । सबै खेल आफ्नो पक्षमा पार्दै अर्जेन्टिनाले कुल २१ गोल गर्दा मात्र एक गोल व्यहोरेको थियो ।
अफ्रिकी राष्ट्रविरुद्ध अर्जेन्टिनाले पछिल्ला ६ खेलमा जित हासिल गरेको छ । तर, यसो भनिरहँदा गत संस्करणको पहिलो खेलमा एसियाली राष्ट्र साउदी अरेबियासँग बेहोरेको अप्रत्याशित हार अर्जेन्टिनाले बिर्सेको छैन । त्यसैले अल्जेरियालाई हल्का रूपमा लिने अवस्थामा अर्जेन्टिना छैन ।
अल्जेरिया र अर्जेन्टिना अहिलेसम्म एकपटक मात्र आमनेसामने भएका छन् । सन् २००७ मा यी दुईबीच भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ४–३ ले विजयी भएको थियो । उक्त खेलमा मेसीले दुई गोल गरेका थिए ।
फिफा वरीयतामा २८औं स्थानमा रहेको अल्जेरिया आफ्नो पाँचौं विश्वकप अनुभव बटुलिरहेको छ । सन् २०१४ को ब्राजिल विश्वकपमा एकपटक नकआउट चरणमा पुगेको अल्जेरिया त्यसपछिका दुई संस्करणमा छनोट हुन सकेन ।
यसपटक अल्जेरियाको छनोट यात्रा निकै सम्झनलायक रह्यो । टोली आफ्नो समूहको शीर्ष स्थानमा रह्यो भने सबैभन्दा धेरै गोल गर्ने टोलीमध्ये एक बन्यो । स्ट्राइकर मोहम्मद अमौरा १० गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता बने ।
भ्लादिमिर पेट्कोभिकको नेतृत्वमा रहेको अल्जेरिया राम्रो लयमा पनि देखिएको छ । विश्वकपअघि भएका चारमध्ये तीन मैत्रीपूर्ण खेलमा अल्जेरियाले जित हासिल गर्यो । यस क्रममा युरोपियन राष्ट्र नेदरल्यान्ड्सले समेत अल्जेरियासँग हार बेहोरेको थियो ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी अल्जेरियाविरुद्ध आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । उनका लागि यो २७औं विश्वकप खेल हुनेछ । ह्यामस्ट्रिङ इन्जुरीबाट रिकभर भइरहेका मेसीले अल्जेरियाविरुद्ध प्लेइङ मिनेट्स पाए विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बन्नेछन् ।
गोलकिपर इमिलियानो मार्टिनेज औंलाको समस्याबाट मुक्त भएका छन् । त्यस्तै मिडफिल्डर लियान्ड्रो पेरेडेज र विंगर निकोलस गान्जालेज पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यद्यपि लेफ्ट ब्याक निकोलस टाग्लियाफिको घाइते छन् । उनको स्थानमा फाकुन्डो मेडिना वा भ्यालेन्टिन बार्कोमध्ये एकजनाले अवसर पाउने सम्भावना छ ।
अल्जेरियाका लागि रक्षक रामी बेन्सेबैनीले घुँडाको चोटका कारण खेल गुमाउने सम्भावना बढी छ । उनी बेन्चमा सीमित भए समीर चेरगुई वा जिनेद्दिन बेलाइदमध्ये एकजनाले उनको स्थान लिनेछन् ।
भेट्रान खेलाडी तथा कप्तान रियाद माहरेज र मोहम्मद अमौरा अल्जेरियाका लागि ‘प्लेअर्स टु वाच’ हुन् ।
समूह ‘जे’ को दोस्रो खेलमा बुधबार नै अस्ट्रियाले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल बिहान ९:४५ बजे सुरु हुनेछ ।
प्रकाशित: २ असार २०८३ १३:३७ मंगलबार



