क्रिस्टियानो रोनाल्डोले अन्ततः उज्बेकिस्तानविरुद्ध पोर्चुगलका लागि दुई गोल गरेर विश्वकपमा गोल गर्ने क्लबमा सामेल भएका छन्।
आफ्नो कठिन हप्तालाई पछाडि पार्दै र ट्रोलको शिकारबिच उनले शानदार कमब्याक गरेका हुन्।
पहिलो हाफमा रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले मंगलबार ५–० को जित हासिल गर्यो। यसले खेलाडी र टोली दुवैलाई राहत दियो। टोलीले आफ्नो पहिलो खेलमा कंगोसँग १–१ को निराशाजनक बराबरी खेलेपछि ठूलो आलोचना खेपेको थियो।
लियोनेल मेस्सी, एर्लिङ हालान्ड र केलियन एमबाप्पेले गोल गरेपछि रोनाल्डो दबाबमा परेका थिए। उज्बेकिस्तानविरुद्ध दुई गोल गरेसँगै उनी छ विश्वकपमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
दुई गोलपछि मैदानबाट बाहिर निस्कँदा रोनाल्डोले टेलिभिजन क्यामेरामा ‘म फर्किएँ !’ (आई एम ब्याक) भनेर चिच्याएको देखिन्थ्यो।
यसबारे पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई पनि भावना राख्न अनुमति रहेको बताए। ‘उनी एक मानव हुन् र उनलाई भावना राख्न अनुमति छ,’ उनले भने, ‘मैले कहिल्यै त्यस्तो खेलाडीसँग काम गरेको छैन जसले भन्छ, आज जे भएपनि भोलि उनी फेरि काम गर्न भोका छन्।’
प्रशिक्षक मार्टिनेजले मेस्सी जस्ता खेलाडीहरूसँग रोनाल्डोको प्रतिस्पर्धा दुवै खेलाडीका लागि महत्त्वपूर्ण भएको बताए। उनीहरूले उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने बताए।
‘मलाई विश्वास छ कि दुबै खेलाडीहरूले वर्षौंको दौडान फुटबलमा सुधार गरेका छन्। उनीहरूको प्रतिद्वन्द्विता बढ्नको लागि महत्त्वपूर्ण छ,’उनले भने, ‘रोनाल्डोे राष्ट्रिय टोलीमा एक आइकन र रोल मोडेल हुन्। मैदान र ड्रेसिङ रुममा उनको मनोवृत्ति राम्रो छ।’
उज्बेकिस्तानका प्रशिक्षक फाबियो क्यानाभारोले रोनाल्डोको प्रशंसा बाहेक अरू केही नभएको बताए। उनले भने,‘जब तपाईं रोनाल्डो विरुद्ध खेल्नुहुन्छ, तपाईं उसको लागि केहि पनि छोड्न सक्नुहुन्न। यदि तपाईंले उसलाई एक सेन्टिमिटर पनि दिनुभयो भने, उसले गोल गर्नेछ।’
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि रोनाल्डोलाई उनको ‘अविश्वसनीय उपलब्धि’ को लागि बधाई दिए र प्रतियोगिताको बाँकी खेलको लागि शुभकामना दिए।
प्रकाशित: १० असार २०८३ १४:३० बुधबार