मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालको खेलतालिका परिमार्जन भएको छ। नयाँ तालिकाअनुसार नेपालले यसअघि तय भएको मितिभन्दा एक दिन अगाडि प्रतियोगिताको सुरुवात गर्ने भएको छ।
यसअघि नेपालले सेप्टेम्बर १ मा पहिलो खेल खेल्ने तय भए पनि अब अगस्ट ३१ मै बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपाल र बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया छन्।
नेपालको बाँकी खेलतालिका यस्तो छ :
अगस्ट ३१ — बहराइनविरुद्ध
सेप्टेम्बर ३ — मलेसियाविरुद्ध
सेप्टेम्बर ६ — साउदी अरेबियाविरुद्ध
सेप्टेम्बर ८ — हङकङविरुद्ध
समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।
प्रतियोगिताको समूह चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा यसअघि नै १४ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। नयाँ तालिकाअनुसार नेपाली टोलीले अगस्ट ३१ देखि नै एसिया कप छनोटको यात्रालाई अघि बढाउनेछ।
प्रकाशित: २७ श्रावण २०८३ १८:५३ बुधबार



