नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले अलराउन्ड प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
लोकेश बाम र मार्टिन गुप्टिलको विस्फोटक अर्धशतकको मद्दतले प्रस्तुत गरेको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा, कप्तान कुशल भुर्तेलको सानदार अर्धशतकका बाबजुद १८.५ ओभरमा १६७ रनमा अलआउट भयो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले फिल्डिङ रोजेपछि विराटनगरले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो।
पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले दोस्रो ओभरमै जर्ज मुन्सी (१० रन) लाई गुमाए पनि त्यसपछि क्रिजमा आएका लोकेश बाम र मार्टिन गुप्टिलले पोखराका बलरहरूमाथि धावा बोले।
यी दुईबीच दोस्रो विकेटका लागि १३२ रनको विशाल र विस्फोटक साझेदारी भयो।
लोकेश बामले ४८ बलमा ७ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ७२ रन बनाए। अर्कोतर्फ, न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गुप्टिलले मात्र ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनको आक्रामक पारी खेले।
यी दुई आउट भएपछि पनि विराटनगरको रन गति रोकिएन। शुभम रन्जानेले मात्र १६ बलमा ३८ र बसिर अहमदले १३ बलमा २३ रनको महत्वपूर्ण योगदान दिएपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल तयार पार्यो।
पोखराका लागि म्याट टेलरले २ विकेट लिए पनि ४ ओभरमा ४८ रन खर्चेर महँगा साबित भए।
भुर्तेलको एक्लो संघर्ष, पोखराको इनिङ्स धराशायी
२२१ रनको असम्भव जस्तै देखिने लक्ष्यको जवाफमा पोखराका कप्तान कुशल भुर्तेलले विस्फोटक सुरुवात दिलाएका थिए।
उनले एडम रोसिङ्टनसँग मिलेर टोलीलाई राम्रो स्थितिमा पुर्याएका थिए। भुर्तेलले मात्र ३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रनको सानदार पारी खेले। रोसिङ्टनले पनि २१ बलमा ३९ रन जोडे।
तर, सातौं ओभरमा रोसिङ्टन आउट भएपछि पोखराको विकेट पतनको सिलसिला सुरु भयो। विशेषगरी, विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै जेम्स नीशम र त्रित राज दासलाई शून्य रनमा पेभेलियन फर्काएपछि पोखराको जितको आशा लगभग समाप्त भयो।
भुर्तेल आउट भएपछि पोखराको संघर्ष थप कमजोर बन्यो। अन्त्यतिर डेन डउथवेटले २० बलमा २९ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन। पोखराको पूरै टोली १८.५ ओभरमा १६७ रनमा समेटियो।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। त्यस्तै, मर्च्यान्ट डे लाङ्गे, प्रतित जिसी र शुभम रन्जानेले पनि २-२ विकेट लिए।
यो सानदार जितसँगै विराटनगर किंग्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ भने पोखराले पहिलो खेलमै हारको सामना गर्नुपरेको छ।
प्रकाशित: २ मंसिर २०८२ १९:४२ मंगलबार