खेल

फुटबलरको स्मृतिमा प्रतियोगिता

पहिरोमा परेर निधन भएका एन्फा एकेडेमीका ६ जना फुटबलरको स्मृतिमा छात्रा र छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ।

गत वर्षको असोज ११ र १२ गते देशभर गएको अविरल वर्षाका कारण मकवानपुरस्थित सिस्नेरीमा सञ्चालित एन्फा एकेडेमीका ६ जना फुटबलरको ज्यान गएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीहरूको स्मृतिमा आगामी मंसिर तेस्रो सातादेखि पुसको पहिलो सातासम्म उक्त प्रतियोगिता गर्ने जनाएको छ।

सिस्नेरीमा रहेको एकेडमीबाट सुरक्षित स्थानमा सर्ने क्रममा ती किशोर फुटबलको पहिरोमा परी ज्यान गएको थियो। उक्त पहिरोमा ज्यान गुमाएका अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आचार्य र साइमन योन्जनको स्मृतिमा एन्फा यु–१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

एन्फाले आफ्ना जिल्ला र प्रदेश संघलाई पनि प्रतियोगिता गर्नका लागि पत्र काटेको छ। जिल्लास्तरीय प्रतियोगिता भदौ १ गतेदेखि असोज २१ तथा प्रदेशस्तरीय कात्तिक १७ गतेदेखि मंसिर १ गते सम्म हुने एन्फाले जनाएको छ। एन्फाका अनुसार केन्द्रीयस्तरीय एन्फा यु–१४ छात्राछात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता आगामी मंसिर १५ देखि पुस २ गतेसम्म काठमाडौंमा हुने तय छ।  

प्रकाशित: १४ श्रावण २०८२ ०७:०६ बुधबार

Incessant rain All Nepal Football Association (ANFA)