निकै चासोका साथ प्रतीक्षा गरिएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले कमजोर टोली लाओसमाथि सानदार नतिजा निकालेको छ।
उज्बेकिस्तानमा आइतबार सुरु छनोटको पहिलो खेलमा लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपाली महिला टोलीले सबैको ध्यान खिचेको थियो
४० वर्षे इतिहासमा नेपाली महिला फुटबल टोलीले लाओसविरुद्ध प्रतिस्पर्धाबाट नै आफ्नो यो सयौं खेलको आँकडा छुँदै थियो।
त्यसबाहेक यसपल्ट यो टोली एसियन कपमा छनोट हुने आशा सबैमा छ। तर, त्यसको सुरुवात कस्तो होला ? भन्ने चासो पनि थिए।
साथै, नियमित कप्तान तथा गोलकिपर परिवर्तनको चर्चाले पनि लाओसविरुद्धको नतिजा अगाडि नै सुरुवाती ११ कस्तो होला भन्ने चासो थियो।
अन्ततः चासो र चर्चाले घेरिएको खेलमा नेपालले ९–० को जितसँगै सानदार सुरुवात पनि गर्यो। तास्केन्दमा यो नतिजाभन्दा अगाडि अबको कप्तान को भन्ने समर्थकको चासोमा केही ट्विस्ट आए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलअगाडि रेनुका नगरकोटेलाई कप्तानी जिम्मेवारी दिएको पोस्ट सार्वजनिक गर्यो।
यद्यपि, रेनुका कप्तान नभएको सूचना प्रवाह भए। एन्फाले पनि केही समयपछि त्यो सूचना परिवर्तन गर्दै सावित्रा भण्डारीलाई कप्तान बनाएको उल्लेख गर्यो।
अन्जिला कप्तानमा मात्र होइनन् नेपालको गोलपोस्टको जिम्मेवारी पनि रहिनन्। उनको स्थानमा अञ्जना रानामगरले जिम्मेवारी पाइन्।
चर्चा भएजस्तै नेपालको १००औं खेलमा केही फरक बन्यो। फराकिलो नतिजा, कप्तान परिवर्तन, नयाँ प्रशिक्षकको डेब्यु, छनोट हुने लक्ष्यको यात्रा र सयौं खेलको कोसेढुङ्गा जस्ता कुराले लाओसविरुद्ध खेल स्मरणीय रह्यो।
तर, एन्फाले दुईपल्टसम्म को नयाँ कप्तान भन्नेबारे फरक सूचना दिनाले केही खल्लो भने बन्यो। एन्फाका प्रवक्ता सुरेश शाहले टोलीबाट आएको सूचना गलत हुँदा त्यस्तो हुन गएको बताए।
‘मिस कम्युनिकेसन हुँदा फरकफरक पोस्ट भएको हो,’ उनले भने। अब सावित्रा नै नियमित कप्तान हुन् त भन्ने प्रश्नमा उनले अहिले नै यसै भन्न नसक्ने बताए।
‘अहिले नै यही भन्न सक्दिनँ। यस विषयमा एन्फा र प्रशिक्षकबीच कुरा भएको छैन। थप कुरा बुझेर मात्र जानकारी गराउन सक्छु,’ शाहले भने, ‘गोलकिपरमा उहाँ (अञ्जिला तुम्बापो सुब्बा) लाई बाहिर राख्ने भएपछि नयाँ कप्तान बनाइएको पनि हुन सक्छ।’
निकै दुबिधाका बीच सुरु भएको खेलमा नेपाली टोलीले नतिजा भने स्पष्ट जित निकाल्यो। यससँगै प्रशिक्षक प्याट्रिक डे वाइल्ड र सावित्राले नयाँ जिम्मेवारी लिएको पहिलो खेलमा सुखद सुरुवात रह्यो।
अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने लक्ष्यसहित एन्फाले प्रो लाइसेन्स प्राप्त प्याट्रिकलाई भित्र्याएको हो। जहाँ उनले पहिलो खेलमा राम्रो नतिजा पनि दिलाए। नेपाल फिफा वरीयतामा १००औं र लाओस १०७औं स्थानमा छन्।
फिफा वरीयतामा खासै अन्तर नभए पनि नेपाली टोलीले गोलअन्तर भने फराकिलो निकाल्यो। त्यो नतिजाले समूह ‘एफ’ को शीर्ष स्थानमा रहेर सन् २०२६ को मार्चमा अस्ट्रेलियामा खेल्ने नेपालको लक्ष्यमा थप आत्मबल पनि प्रदान गर्नेछ।
यस समूहको अन्य टोलीमा श्रीलंका र उज्बेकिस्तान छन्। एसियन कप खेल्ने नेपालको सपनामा सबैभन्दा कठिन प्रतिद्वन्द्वी उज्बेकिस्तान हुनेछ।
अट्याकिङ फुटबल खेल्दै अन्य टोलीमाथि चुनौती दिने संकेत गर्ने नेपालको योजनामा केही सफलता पनि मिलेको छ। नेपालकी अनुभव मिडफिल्डर रेनुकाले भने प्रशिक्षकको रणनीतिअनुरूप सफलता मिलेको बताइन्।
‘समग्रमा नतिजा राम्रो भयो। प्रशिक्षकले अट्याकिङ खेल खेल्ने रणनीतिअनुरूप नै भयो। नतिजा फराकिलो आयो। तर, अझै पनि केही गोल निस्किएन,’ उनले भनिन्, ‘उज्बेकिस्तानसँगको खेललाई पनि ध्यान दिएका छौं। तर, त्योभन्दा अगाडि यो खेल जित्नुपर्ने थियो। नतिजा पनि राम्रो आएको छ।’
पहिलोपल्ट कप्तानी आर्मब्यान्ड लगाएकी सावित्राले ह्याट्रिकसहित चार गोल गरिन्। अनिता बस्नेत, सरु लिम्बु, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरे।
खेल सकिन दुई मिनेट बाँकी छँदा लाओसकी सेसामोने इन्थाफोनले आत्मघाती गोल गरिन्। नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।
तर, दोस्रो हाफको केही समयमा प्रशिक्षक प्याट्रिकले रणनीति परिवर्तन गरे। यसपछि नेपाल थप आक्रामक बन्यो र सात गोल थप्यो।
प्याट्रिकले ३–२–३–२ को शैलीमा टोलीलाई मैदान उतारेका थिए। सुरुवातमा यो रणनीति त्यति प्रभावकारी देखिएन। तर, दोस्रो हाफमा भने आशातीत नतिजा सम्भव बन्यो।
प्याट्रिकले रक्षापंक्तिमा गीता रानासँगै निशा थोकर र समीक्षा घिमिरेलाई मौका दिएका थिए। डिफेन्सिभ मिडफिल्डमा सरु र सरस्वती हमाल तथा मिडफिल्डको माथिल्लो भागमा अनुभवी रेनुका नगरकोटे तथा बायाँ विङ्समा सविता रानामगर र दायाँ विङ्समा अनिता बस्नेतले अवसर पाए।
नेपालको अग्रपंक्तिमा कप्तान सावित्रा र रश्मिले समालेका थिए। जहाँ दुवैले प्रभाव पनि जमाए। छनोटको दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
त्यसपछि शनिबार अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्ने तालिका छ। समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ।
नेपाल छनोट भएर पहिलोपल्ट एसियन कप खेल्दै इतिहास रच्ने लक्ष्यमा छ।
प्रकाशित: १५ असार २०८२ २३:२७ आइतबार