समाज

भक्तपुरको 'नागपुखु'मा नजिकबाट नागको दर्शन गर्न पाइने

इतिहासमै पहिलो पटक भक्तपुरको नागपोखरीको नागलाई नजिकबाट दर्शन गर्ने मौका मिल्ने भएको छ।

सोमबार नाग पञ्चमीको दिन भक्तपुरको नाग पोखरीको बिच भागमा रहेको नागसम्म पुग्ने गरी अस्थायी पुल बनाएपछि यो अवसर मिल्ने भएको हो।

पोखरीसम्म पुग्ने पाँच फिट चौडाइ, ४४ फिट लामो पुल आइतबार नै निर्माण सम्पन्न गरिसकिएको छ। फलामको सहायताले नट कसेर पोखरीमा अस्थायी पुल बनाइएको हो। अस्थायी पुल भएकोले सुरक्षालाई ध्यानमा राखी एक पटकमा पाँच पाँच जना दर्शनका लागि पठाउने योजना बनाइएको छ।

अस्थायी पुल सोमबार नाग पञ्चमीको एक दिन मात्रै सञ्चालन गरी नागपञ्चमी सकेपछि पुनः हटाइने जनाइएको छ।

भक्तपुरको नागपोखरी भक्तपुर नगरपालिका वडा नं १० थालाछेंमा रहेको छ। नाग पञ्चमीको दिन पोखरी रहेको भक्तपुर नगरपालिका वडा नं १० र नागपुखु (नागपोखरी) संरक्षण समितिको संयुक्त सहकार्यमा अभूतपूर्व नागपञ्चमी उत्सव २०८३ को आयोजना गरेको छ। उत्सव बिहानदेखि दिनभर चल्ने जनाइएको छ।

कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने योजना बनाइएको छ। बिहान भ्वायलिन, बाँसुरी र खिँ एकै पटक बजाएर करिब एक सय जनाले प्रस्तुति दिने आयोजकले जनाएको छ।

साथै दिनभर नागको पूजाको व्यवस्था मिलाइएको छ। पूजाका क्रममा मङ्गल धुन, सिलु धुनलगायत विभिन्न नेवारी धुन प्रस्तुत गरिने जनाइएको छ।

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भजन तथा त्यसपछि सांगीतिक कार्यक्रम सञ्चालन कार्यक्रम कार्यक्रम तय गरिएको छ।

आयोजक नागपुखु (नागपोखरी) संरक्षण समितिका कोषाध्यक्ष सुजन शिल्पकारले मौकाको फाइदा लिई नजिकबाट नागको दर्शन गर्न पाउने अवसरको सदुपयोग गर्न सवैसँग अनुरोध गरे।

‘अहिलेसम्म नागको प्रत्यक्ष दर्शन गर्न पाएको हामीले थाहा पाउन सकेका छैनौ’, उनले नागरिकसँग भने, ‘पोखरीको बिचमा पुग्ने व्यवस्था नभएकाले अहिलेसम्म यस्तो अवसर नआएको हो।’

भक्तपुरको नाग पोखरीको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी गराई पर्यटकस्थलका रूपमा विकास गर्ने उद्देश्यले यस वर्ष विशेष कार्यक्रम आयोजना गरिएको उनको भनाई छ।

भक्तपुरको यो पोखरी भक्तपुर नगरको बिच भागमा रहेको छ। यहाँ पुग्न अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीबाट नगरकोट सडकको महाकालीबाट घना बस्तीभित्र प्रवेश गर्नुपर्छ।

महाकाली (ख्वप कलेज वा भक्तपुरबाट चाँंगुनारायण मन्दिर जाने चोक) बाट पाँच मिनेटको हिडाईमै नागपोखरी पुग्न सकिन्छ।

स्थानीय कृष्णराम दुवालले यसअघिका वर्षहरूमा नाग पञ्चमीको दिन नाग पूजा हुने गरे पनि सबैले नजिकबाट पोखरीको बिच भागमा रहेको नागलाई नजिकबाट दर्शन गर्न नपाएको स्मरण गरे।

यसअघिका वर्षहरूमा गाडीको टायरबाट अस्थायी डुंगा बनाई सीमित मानिस पुगेर पूजा गर्ने गरेको स्मरण उनले गरे।

नागपञ्चमीका दिन नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाउने तथा धूप–दीप गर्ने प्रचलन छ। यस दिन कुल नागका थानमा कपासबाट नागको आकृति बनाएर अबिर, अक्षतालगायत सामग्रीले पूजा गर्ने र दूधको अर्घ्य दिने गरिन्छ।

यस दिन दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेका नयाँ फलफूलसमेत नागलाई चढाउने परम्परा रहेको छ। नागको पूजा गरेमा नागको भयबाट मुक्ति पाइने जनविश्वास रहेको छ।

भक्तपुर नगरपालिका वडा नं १० ले जनाए अनुसार वडाभित्र नागपोखरीसहित आधा दर्जन पोखरीहरू रहेका छन्। वडामा नागपोखरीसहित कलमपोखरी, लामगाल पोखरीलगायत ६ वटा पोखरीहरू रहेका छन्।

भक्तपुरको नागपोखरी भक्तपुरको तःमारीस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर निर्माणका लागि यही पोखरीबाट माटो लगिएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ।

माटो निकालिएपछि बनेको खाल्डोमा राजा भूपतीन्द्र मल्लले नागको स्थापना गराएको जनविश्वास छ। पोखरीको मध्य भागमा नागको प्रतिमा रहेकाले यसको नाम नागपोखरी राखिएको जनाइएको छ। यस पोखरीलाई थालाछेँ पुखुले पनि चिनिन्छ।

प्रकाशित: ३१ श्रावण २०८३ १७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App