दसैंको समयमा घरबाहिर रहेकाहरू घर फर्किएका छन्। यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ। यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ। घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिलाहरू बताउँछन्।
चाडपर्व भनेपछि प्राय: सबैलाई रमाइलो गर्न मन पर्छ। नेपाली समाजमा महिलाहरू घरायसी कामले पिल्सिने, पुरुषहरू रमाइलो गर्ने फुर्सदिला भएका जस्तो देखिन्छ।
भजनी नगरपालिकाकी साधना साउँदका घरमा अहिले दसैँको रौनक छ। विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ। सबैलाई घरमा रमाइलो छ तर साधनाको भोकनिद्रा हराएको छ। ‘‘दुई वर्षपछि श्रीमानसँग भेट भएकोमा खुसी छु, यसपालि श्रीमानसँग घुम्ने योजना थियो तर घरको फुर्सद छैन’’, उनले भनिन्, ‘‘विहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन, सबै रमाउनेहरू मात्रै छन्, काम जति मेरै जिम्मामा छ।’’
टीकापुरकी द्रोपती तिमिल्सिनाले चाडपर्वमा समाजमा महिलालाई भ्याइनभ्याइ भएको देखेकी छन्। ‘‘दसैंतिहार विदामा समाजमा पुरुषहरू फुर्सदिला देखिने, महिला भने घर सरसफाइ, भान्साको काम, पाहुनाको स्वागतमा व्यस्त देखिन्छ’’, उनले भनिन्, ‘‘महिलाले पनि यो समयमा नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, नयाँ काम गर्ने, आफ्ना लागि समय छुट्याउन पाएको देखिँदैन।’’
द्रोपतीका श्रीमान भने निकै सहयोगी छन्। उनीहरू मिलेर घरायसी काम गर्छन्। चाडपर्वमा गरिने खर्च, किनमेल र योजना बनाउँदा पनि सल्लाह गर्छन्।
अर्की महिला जानकी कुँवर महिलालाई त्यसै पनि घरायसी कामको बोझ हुने गरेका बेला चाडपर्व तथा उत्सवले थप जिम्मेवारी थप्ने बताउँछिन्। ‘‘कामकाजी महिलालाई अझ दोहोरो जिम्मेवारी हुने हुँदा महिलालाई घरायसी काम व्यवस्थापन गर्न कठिन हुन्छ’’, उनले भनिन्, ‘‘यस्तो बेला परिवारका सदस्य सहयोगी हुनुपर्छ। चाडपर्वमा खुशी हुने अवसर सबैलाई दिनुपर्छ। परिवार भनेको सामूहिक खुशी हो भन्ने सबैमा भावना हुनुपर्छ।’’
पुरुषहरू घुमघाम गर्ने, रमाइलो गर्ने, जाँडरक्सी खाने, जुवातास खेल्ने गलत अभ्यास हाम्रो समाजमा अहिले पनि देखिन्छ। जसले समाजमा अशान्ति र हिंसा बढाउँछ भन्नेमा सबै सचेत हुनुपर्ने अधिकारकर्मी चन्द्रावती शर्माको भनाइ छ।
‘‘महिलाहरू रातदिन घरको काममा व्यस्त हुने, पुरुषहरू जुवातासमा रमाउने गर्दा पारिवारिक कलह हुन सक्छ’’, उनले भनिन्, ‘‘परिवारका सबै सदस्य मिलेर घरायसी काम गर्ने, मिलेर रमाइलो गर्दै चाडपर्व मनाउने गरेमा चाडपर्व सबैका लागि रमाइलो हुन्छ तर समाजमा यस्तो अभ्यास निकै कम छ।’’
महिला अधिकारकर्मी कौशल्या खनाल पितृसत्तात्मक समाजका कारण विगतमा छोराछोरीलाई बराबरी काम नसिकाएकै कारण अहिले महिलाहरूले हिंसा भोगिरहेका बताउँछिन्। ‘‘घरायसी काममा असमानता महसुस गरिरहेकाले अबका आमाहरू सचेत हुनुपर्छ’’, उनले भनिन्, ‘‘छोराछोरीले बराबरी काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ। सानैबाट छोरालाई घरायसी काम सिकाउनुपर्छ।’’
चाडपर्वका बेला महिलाले खानपान, काम मात्र नभनी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, धेरै तनाव नलिने, योग तथा ध्यान जस्ता कार्यमा सहभागी भएर आफूलाई सम्हाल्नुपर्ने स्वास्थ्यकर्मी हेमा ज्ञवालीको सुझाव छ।
‘‘चाडपर्व सबैका लागि आएको हुन्छ। चाडपर्वमा रमाउने, राम्रो लगाउने, मीठो खाने चाहना सबैको हुने भएकाले सबै मिलेर काम बाँडफाँड गर्ने, अनावश्यक खर्च नगर्ने, घरसल्लाहमा खर्च गर्ने गरे महिला र पुरुष दुवै खुशी हुन्छन्’’, उनले भनिन्, महिला र पुरुष खुसी भएमा परिवार र समाजमा शान्ति छाउँछ।’’
प्रकाशित: १४ आश्विन २०८२ ०७:२८ मंगलबार



