रातको अँध्यारो छिचोल्दै पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि खुला भए । पूर्वतिर आकाश उज्यालिन नपाउँदै आर्यघाट आसपासदेखि मन्दिर परिसर र दर्शनार्थीको लामसम्म रातो सारी, हरियो पोते, चुरा र मेहन्दीमा सजिएका महिलाको चहलपहल बढिसकेको थियो ।
कोही पतिको दीर्घायुको कामना गर्दै थिए, कोही आमाबुबाको सुस्वास्थ्य र परिवारको सुख–शान्तिका लागि प्रार्थना गर्दै थिए । कसैका आँखामा भक्तिको भाव थियो, कसैका ओठमा तीजका भाका । हरितालिका तीजले फेरि एकपटक पशुपतिनाथ परिसरलाई आस्था, प्रार्थना र नारी भावनाको साझा थलो बनाएको थियो ।
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ । तीजका अवसरमा व्रत बसेका महिलाहरूले भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्दै पारिवारिक सुख, शान्ति, समृद्धि र प्रियजनको दीर्घायुको कामना गरिरहेका छन् ।
परम्परासँग जोड्ने पर्व
पशुपतिनाथ मन्दिरमा पूजा तथा दर्शनका लागि पुगेकी व्रतालु मेनुका कोइरालाका लागि तीज केवल एउटा पर्व होइन, पुर्खौँदेखि पुस्तान्तरण हुँदै आएको आस्था र संस्कारको निरन्तरता हो । उनका लागि तीजमा व्रत बस्नु भनेको भगवान् शिव र माता पार्वतीप्रतिको श्रद्धा व्यक्त गर्नुका साथै परिवार र परम्परासँग जोडिनु पनि हो ।
तर तीज मनाउने शैलीमा आएको परिवर्तनलाई भने उनले नजिकबाट महसुस गरेकी छन् । विगतमा तीजको केन्द्रमा पूजा, व्रत, माइतीको भेटघाट र आत्मीयता रहने गरेको सम्झँदै उनले अहिले पर्व मनाउने तौरतरिका फेरिएको बताइन् ।
‘हामी पार्वतीजस्तो भक्त हुन सकेनौँ होला, तर पुर्खौँ–पुर्खादेखि चलिआएको परम्परा पछ्याइरहेका छौँ,’ उनले भनिन् ।
कोइरालाका अनुसार अहिले तीजका नाममा हुने कतिपय गतिविधि र देखासिकीले पर्वको मौलिक धार्मिक तथा सांस्कृतिक भावनालाई ओझेलमा पार्न थालेका छन् । बदलिँदो सामाजिक संस्कार र पहिरनको प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन् ।
उनको बुझाइमा तीजको सौन्दर्य केवल बाहिरी सजावटमा होइन, व्रतको निष्ठा, पूजाको श्रद्धा, पारिवारिक आत्मीयता र महिलाहरूले एकअर्कासँग बाँड्ने सुख–दुःखमा निहित छ ।
अहिलेको दर्शन सहज
तीजको दिन पशुपतिनाथमा दर्शन गर्न आउने महिलाको भीड हरेक वर्षजस्तै यसपटक पनि उल्लेख्य छ । यद्यपि विगतको तुलनामा यसपटक पूजा तथा दर्शन केही सहज भएको व्रतालु लिला कडायतको अनुभव छ ।
उनका अनुसार पहिले लामो समयसम्म लाइनमा बसेर पालो पर्खिनुपर्ने अवस्था रहे पनि यसपटक करिब १५ मिनेटमै मन्दिर प्रवेश गरी पूजाआजा गर्न सकिएको छ ।
‘पहिला–पहिला त एकदम लाइन लाग्नुपथ्र्यो । यसपालि १५ मिनेटमै हामी भित्र छिरेर पूजा गरेर भ्याइसक्यौँ,’ उनले भनिन् ।
कडायतका अनुसार विगतमा पुरुष भक्तजनसमेत पूजाका लागि आउने गरेकाले भीड थप हुने गरेको थियो । यसपटक पुरुषलाई प्रवेशको अनुमति नदिइएकाले पनि महिलाका लागि दर्शन सहज भएको हुनसक्ने उनको बुझाइ छ ।
उनका लागि तीजको व्रतको मूल भावना हो, श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना । समय फेरिए पनि व्रत, पूजा र प्रार्थनामा जोडिएको भावनात्मक सम्बन्ध नफेरिएको उनी बताउँछिन् ।
पशुपतिनाथ पुगेकी व्रतालु जानुका पौडेलले यसपटक तीजका अवसरमा महिलालाई विशेष प्राथमिकता दिइएको र सुरक्षा व्यवस्था पनि व्यवस्थित रहेको बताइन् । सामान्य दिनको तुलनामा आज महिलाका लागि गरिएको व्यवस्थापन सहज र प्रभावकारी रहेको उनको अनुभव छ ।
‘हामी पशुपतिमा धेरै पटक आइसकेका छौँ । तर अरू बेलाभन्दा आजको सुरक्षा व्यवस्था राम्रो थियो । हरितालिका तीज भएर होला, धेरैजसो महिलालाई प्राथमिकता दिइएको थियो । त्यसमा धेरै खुसी लाग्यो,’ पौडेलले भनिन् ।
पौडेल नियमित रूपमा विभिन्न पर्वमा व्रत बस्ने गर्छिन् । यसपटक भने उनको प्रार्थनाको केन्द्रमा श्रीमान् मात्र होइनन् । उनले बुवाआमाको दीर्घायु, परिवारको सुख–शान्ति र कुनै पनि संकट नआओस् भन्ने कामना गरेकी छन् ।
उनका लागि तीजको अर्थ पनि समयसँगै बदलिएको छ । बाल्यकालमा तीज आउँदा गीत गाउने, नाच्ने, साथीभाइ तथा आफन्तसँग रमाउने उत्साह हुन्थ्यो । अहिले भने जीवनका जिम्मेवारी थपिएका छन् । त्यसैले बाल्यकालमा जस्तो खुलेर रमाउन नसके पनि तीजप्रतिको आस्था र आत्मीयता भने कायमै रहेको उनी बताउँछिन् ।
बदलिँदो तीज, उस्तै आस्था
तीजको स्वरूप समयसँगै बदलिँदै गएको छ । पहिले तीज माइती जाने, दिदीबहिनी भेट्ने, दर खाने, गीत गाउने र दुःख–सुख साट्ने अवसरका रूपमा बढी केन्द्रित थियो । अहिले त्यसमा सामूहिक कार्यक्रम, सामाजिक सञ्जाल, सांस्कृतिक प्रस्तुति र सार्वजनिक जमघट पनि थपिएका छन् ।
तर परिवर्तनका बीच पनि तीजको मूल धार्मिक भावनाले निरन्तरता पाएको छ । विवाहित महिलाले पतिको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्ने तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा अझै जीवित छ ।
भगवान् शिव र माता पार्वतीको सम्बन्ध, पार्वतीको तपस्या र समर्पणसँग जोडिएको तीज महिलाका लागि श्रद्धा, प्रेम, त्याग र पारिवारिक मंगलकामनाको पर्वका रूपमा स्थापित छ । यस दिनको व्रतलाई केवल खानपान त्याग्ने अभ्यासका रूपमा नभई आत्मसंयम, साधना र प्रार्थनासँग जोडेर हेर्ने गरिन्छ ।
पशुपतिनाथ परिसरमा भेटिएका दिदीबहिनीका अनुभव सुन्दा तीजको रमाइलोको रूप फेरिएको हुन सक्छ, तर आस्थाको धागो अझै उस्तै बलियो छ । कसैका लागि यो पतिको दीर्घायुको प्रार्थना हो, कसैका लागि बुवाआमाको सुस्वास्थ्यको कामना । कसैका लागि बाल्यकालको सम्झना हो, त कसैका लागि जिम्मेवारीबीच पनि आफूलाई आफ्नै संस्कृतिसँग जोडिराख्ने अवसर ।
यसरी तीजमा रमाएका नारीहरूका अनुहारमा देखिएको उल्लास केवल पर्वको रौनक मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक विश्वास, पारिवारिक प्रेम र सांस्कृतिक पहिचानको उज्यालो पनि हो ।
प्रकाशित: २९ भाद्र २०८३ १६:२६ सोमबार



