गत असोज १० गते पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएपछि सुरु भएको घटनाक्रम कहाँ पुगेर टुंगिन्छ भन्ने अझै स्पष्ट छैन। जबराविरुद्ध प्रहरीले अहिलेसम्म कुनै मुद्दाको प्रक्रिया अघि बढाएको छैन। उनै जबराबाट नाम खुलेका इनम सापकोटा भने डेढ महिनादेखि प्रहरी हिरासतमा छन्। जबरालाई एक रात प्रहरी कार्यालयमा राखेर छाडिएको थियो।
सापकोटा एक हजार चार सय अमेरिकी डलरसहित पक्राउ परेका हुन्। सापकोटाबाट बरामद डलर बैंकबाट साटिएको प्रमाण राहदानीमा नदेखिएपछि त्यसैलाई आधार बनाएर प्रहरीले राष्ट्र बैंक ऐनअन्तर्गत अनुसन्धानका लागि म्याद लिएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि सापकोटामाथि अनुसन्धान गरिरहेको प्रहरीले उनीसँग सम्बन्ध र आर्थिक कारोबार देखिएको आरोपमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई समेत पक्राउ गरिसकेको छ।
सुशील असोज ३१ गते पक्राउ परेका हुन्। अनुसन्धान अधिकृतहरूका अनुसार सुशीलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारागारमा रहेका आफ्नै भाइ दीपक भट्टको मुद्दा मिलाउन सापकोटासँग आर्थिक कारोबार गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।
दीपकको मुद्दा मिलाउन चलखेल गरेको आशंकामा प्रहरीले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको थियो। तर प्रहरीले जबरामाथि सुरक्षा चुनौती देखिएकाले उनलाई नियन्त्रणमा लिनुपरेको स्पष्टीकरण सार्वजनिक रूपमा दिएको थियो।
इनमसँग आर्थिक कारोबारमा जोडिएको भन्दै प्रहरीले महेशलाई शनिबार पक्राउ गरेको हो। उनले सापकोटासँग कति रकमको कारोबार गरेका थिए भन्ने प्रहरीले खुलाएको छैन तर उच्च स्रोतका अनुसार आफू स्वास्थ्य क्षेत्रमा काम गर्ने र प्रधानमन्त्री बालेन्द्र शाहनिकट रहेको दाबी गर्दै सापकोटा श्रेष्ठसँग सम्पर्कमा पुगेको थिए। उमेशको समेत लगानी रहेको बालाजुस्थित जनमैत्री अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न इनम र महेशबिच आर्थिक कारोबार भएको हुन सक्ने स्रोतको दाबी छ। यसबारे खुल्न सकेको छैन।
इनम, सुशील र महेशलाई हिरासतमा राखेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरी फेरि बिहीबार हिरासत म्याद थप्न गर्ने तयारीमा छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले भने, ‘सापकोटासँग सम्बन्ध र कारोबार देखिएकै आधारमा थप दुई जना पक्राउ परेका हुन्। तीनै जनामाथि थप अनुसन्धानका लागि बिहीबार म्याद लिन्छौं ।’
घिमिरेले राष्ट्र बैंक ऐनको कसुरअन्तर्गत हिरासतमा राखिएका सापकोटासँग भट्ट र श्रेष्ठ दुवैले कति रकमको कारोबार गरेका थिए भन्ने खुलाएनन्। ‘यो अलि जटिल मुद्दा हो। अहिले हामी सबै कुरा खुलाउन सक्ने अवस्थामा पुगेका छैनौं,’ एसएसपी घिमिरेले भने।
सापकोटा प्रकरण प्रहरीका लागि प्रतिष्ठाको विषय
प्रहरीका लागि सापकोटा प्रकरण प्रतिष्ठाको विषय बनेको छ। सुरुवातमा एक हजार चार सय अमेरिकी डलरलाई आधार बनाएर सापकोटालाई हिरासतमा लिइएको थियो। पूर्वप्रधानन्यायाधीश जबरासँग निकट रहेर बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेका सापकोटाको बैंक विवरण प्रहरीले संकलन गरिसकेको छ।
स्रोतका अनुसार उनको बैंक खातामा करिब एक करोड रुपैयाँ देखिएको छ। त्यसबाहेक दुबईमा पनि केही लगानी हुन सक्ने आशंका गरिएको छ। दुबईबाट कारोबारसम्बन्धी कुनै प्रमाण प्राप्त नभए अनुसन्धान कमजोर हुने जोखिम रहेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। सुशीलको हकमा भाइ दीपकको मुद्दा मिलाउने प्रयासका क्रममा सापकोटासँग भएको भनिएको आर्थिक कारोबार खुल्न सक्ने प्रहरीको अनुमान छ। तर सापकोटाको महेशसँगको कारोबार के प्रयोजनका लागि भएको हो भन्ने अझै खुलेको छैन।
कांग्रेस विशेष महाधिवेशनसम्म पुग्छ अनुसन्धान?
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट साभापति बनेका गगन थापामाथि पार्टी आधिकारिकता विवादमा निर्वाचन आयोगलगायतलाई आर्थिक प्रभावमा पारी आफ्नो पक्षमा निर्णय गराएको आरोप लागेको छ। यसका लागि इनम सापकोटालाई प्रयोग गरी थापाले १८ करोड रुपैयाँ खर्च गरेको आरोप छ।
दुई साताअघि इनमकै आवाज दाबी गर्दै सार्वजनिक एउटा अडियोमा थापाको नाम जोडिएको थियो। उक्त अडियोको आधिकारिकता पुष्टि हुन सकेको छैन। थापाले गरेको भनिएको आर्थिक चलखेलमा उमेश श्रेष्ठको लगानी रहेको र उक्त रकम इनममार्फत निर्वाचन आयोगदेखि अदालतसम्म पुगेको आरोपलाई पुष्टि गर्ने आधार खोज्न महेशलाई पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ।
प्रहरीले दाबी गरिरहेको इनम र महेशबिचको भनिएको आर्थिक कारोबार कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित छ वा जनमैत्री अस्पतालका लागि उपकरण खरिद गर्ने प्रयोजनसँग जोडिएको हो भन्ने अझै खुलेको छैन। प्रहरीले यी दुई सम्भावनाबिचको सम्बन्ध र कारोबारको वास्तविक प्रयोजन खोजिरहेको छ।
बयान कक्षको भिडियो नै सार्वजनिक
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको घरमा पुगेको विवरण पनि विभिन्न समाचार माध्यमबाट सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको मोबाइल प्रहरीले सुरक्षित राख्न नसकेको आरोप लागेको छ।
प्रधानमन्त्री शाहका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी जिल्ला प्रहरी परिसरको बयान कक्षमै पुगेर सापकोटामाथि भइरहेको अनुसन्धानबारे जानकारी लिएको भनिएको भिडियोसमेत सार्वजनिक भइसकेको छ। अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘जुन मुद्दामा सापकोटा पक्राउ परेका छन्, त्यसको बयान सुरु नहुँदै गगन थापाको नाम जोडेर अडियो सार्वजनिक भयो। अहिले फेरि अनुसन्धान अधिकृतसँगै प्रधानमन्त्रीको टिमकै व्यक्ति गएर जानकारी लिइरहेको भिडियो बाहिर आएको छ। यो मुद्दालाई व्यवस्थित रूपमा अनुसन्धान गर्न र सम्हाल्न सकिएन भने प्रहरी फेरि विवादमा पर्न सक्छ।’
अहिले भइरहेको अनुसन्धानबाट सापकोटाको पूर्वप्रधानन्यायाधीश जबरासँगको आर्थिक कारोबारसम्म पुग्न सकिने स्रोतको दाबी छ।
प्रहरी संगठनभित्रै अन्योल
सापकोटा प्रकरणकै कारण नेपाल प्रहरीभित्र तरंग फैलिएको छ। सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। यस घटनाको सम्बन्ध पनि इनम सापकोटा प्रकरणसँग जोडिएको बताइन्छ। सापकोटाको मोबाइल कुमार बेनको घरमा पुगेको सूचना चुहाएको आरोपमा कार्कीलाई हटाइएको स्रोतको दाबी छ। नयाँ महानिरीक्षक केसीले सापकोटामार्फत अनुसन्धान जहाँसम्म पुग्छ, त्यहाँसम्म पुग्न काठमाडौं प्रहरी परिसरलाई निर्देशन दिइसकेको बताइएको छ। नेतृत्व परिवर्तनपछि नयाँ परिस्थितिअनुसार प्रहरीले काम गर्नुपरेको छ। यसले संगठनभित्र अन्योल बढाएको एक डिआइजीले बताए।
सापकोटा प्रकरण केवल १ हजार ४ सय अमेरिकी डलरको स्रोत खोज्ने विषयमा सीमित छैन। सापकोटासँग जोडिएका भनिएका बैंकिङ कारोबार, पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्बन्ध, सुशील भट्ट र महेश श्रेष्ठसँगको आर्थिक लेनदेन तथा कांग्रेसको विशेष महाधिवेशनमा भएको भनिएको आर्थिक चलखेलसम्म अनुसन्धान पुग्ने संकेत देखिएको छ।
प्रकाशित: २ मंसिर २०८३ ०७:१४ बुधबार



