राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सरकारको सम्बन्ध टकराबको नभई सहकार्यको हुने बताएका छन्।
आइतबार काठमाडौंमा निजी क्षेत्रका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा उनले व्यवसायीलाई सरकारसँग नडराउन आश्वस्त पारेका हुन्।
सुशासन, आर्थिक सुधार, उत्पादनमुखी अर्थतन्त्र र निजी क्षेत्रको संरक्षण सरकारको मुख्य प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। आफू धेरै बोल्नभन्दा पनि निजी क्षेत्रका समस्या र सुझाव सुन्न कार्यक्रममा उपस्थित भएको उनले बताए।
व्यवसायीहरू सशंकित हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै सभापति लामिछानेले भने, ‘तपाईंहरू सशंकित र डराएको जस्तो देखेर नै म यहाँ बस्न चाहेको हुँ। हामी व्यवसायीलाई दुःख दिन चाहँदैनौं। सरकार निजी क्षेत्रलाई सहज र प्रोत्साहित गर्न चाहन्छ, कुनै स्वार्थ खोज्न होइन।’
रास्वपाले आफ्नो वाचापत्रमार्फत अर्थतन्त्र सुधारका लागि स्पष्ट रोडम्याप अघि सारेको उनले स्मरण गराए। जनतासँग मत माग्दा गरिएका बाचाअनुसार नै सरकार चल्नुपर्नेमा उनले जोड दिए।
‘वास्तविक अर्थतन्त्रको विकास, निजी क्षेत्रका समस्या समाधान र आम नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिने विषयमा हामीले स्पष्ट योजना बनाएका छौँ,’ उनले भने, ‘सरकार वाचापत्र हेरेर चल्नुपर्छ, किनभने हामीले यही आधारमा जनतासँग मत मागेका हौँ।’
प्रकाशित: २० वैशाख २०८३ १७:१६ आइतबार



