बर्दियाको बारबर्दिया नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु झार्न रोकिरहेको बसलाई मिनी ट्रकले पछाडिबाट ठक्कर दिँदा एक महिने शिशुसहित १२ जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बारबर्दिया नगरपालिका-९ खल्ला कतर्नियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ ख १७८६ नम्बरको यात्रुवाहक बसलाई सोही दिशातर्फ गइरहेको बी १०२००२ ख १३५३ नम्बरको मिनी ट्रकले ठक्कर दिएको हो।
यात्रु झार्नका लागि सडकमा रोकिरहेको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिँदा बस सडकबाट करिब ५ देखि ६ मिटर दक्षिणतर्फ तल खसेर पल्टिएको थियो। दुर्घटनालगत्तै उद्धार गरिएका सबै १२ जना घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ।
दुर्घटनामा परी बारबर्दिया नगरपालिका-१ की ४२ वर्षीया पवित्रा थापा गम्भीर घाइते भएकी छन्। त्यसैगरी, बाँकेको बैजनाथ गाउँपालिका-४ की २१ वर्षीया भविसरा थापा बुढा, उनका एक महिने छोरा निराजन बुढा र दुई वर्षीया छोरी हनसिखा बुढा पनि घाइते भएका छन्।
घाइते हुने अन्य यात्रुहरूमा बारबर्दिया-२ का ३३ वर्षीय विवेक थारु, ३९ वर्षीया उमिता थारु, बारबर्दिया-३ की ३३ वर्षीया पार्वती चौधरी र बारबर्दिया-१ का ५५ वर्षीय चित्रबहादुर थारु रहेका छन्।
यस्तै, बाँसगढी नगरपालिका-३ की ३५ वर्षीया रुपनी थारु र उनका ७ वर्षीय छोरा कमल थारु, बाँसगढी-९ की २९ वर्षीया विपत्ति थारु तथा बाँकेको बैजनाथ गाउँपालिका-५ की ५९ वर्षीया नन्दकली दमाईसमेत दुर्घटनामा घाइते भएका छन्।
गम्भीर घाइते पवित्राबाहेक अन्यको टाउको, अनुहार, छाती, ढाड र हातखुट्टामा चोट लागेको र उनीहरूको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरीले दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बस चालक बारबर्दिया-२ का २८ वर्षीय दिनेश थारु र मिनी ट्रक चालक गुलरिया नगरपालिका-८ का ३० वर्षीय सुरेश थारु रहेका छन्।
दुर्घटनापछि पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८३ २०:५८ आइतबार



