समाज

‘भारी वर्षाको जोखिम छ, असोज ११ गतेसम्म पदयात्रा नगर्नु’

एआईको सहयोगमा निर्मित तस्बिर

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न आग्रह गरेको छ। 

टानका महासचिव सोनामग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गर्दै आजदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले पर्यटकलाई पदयात्रा रोक्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।

अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो तथा डुबान हुनसक्ने र पदयात्रा मार्ग तथा यातायात सेवा प्रभावित हुने जोखिम रहेकाले पदयात्रा रोक्न टानले आग्रह गरेको हो।

जोखिमपूर्ण परिस्थितिमा सकभर नयाँ पदयात्रामा ननिस्कन र पदयात्रा गन्तव्यमा रहेका पर्यटक तथा सहयोगी टोलीलाई सुरक्षित स्थानमा राख्न आग्रह गरिएको महासचिव शेर्पाले बताएका छन्। खोला किनार, भिरालो जमीन र पहिरोको जोखिम भएका क्षेत्रमा नबसी पर्वतारोहण तथा अन्य साहसिक पर्यटनका गतिविधि नगर्न/नगराउन पनि टानले अनुरोध गरेको छ।

टानले निरन्तर मौसमसम्बन्धी ‘अपडेट’ लिई स्थानीय निकाय, सुरक्षा निकाय र संरक्षित क्षेत्रका व्यवस्थापकसँग समन्वय गर्न व्यवसायीलाई भनेको छ। यस्तै, कुनै समस्या परेमा वर्षासम्बन्धी जानकारी ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र पर्यटक प्रहरी ११४४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

May be an image of text

प्रकाशित: ८ आश्विन २०८३ २०:५४ बिहीबार