समाज

घट्दै हिमताल फुट्ने समयान्तर, बढ्दै महाविपत्तिको डर

नेपालमा हिमपहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्।हिमशृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाहीं फुट्ने गर्छन् तर विगत तीन दशकयता जलवायु परिवर्तनका कारण यस्ता घटनाको ‘फ्रिक्वेन्सी’ र क्षतिको आकार दुवै बढेको विज्ञहरूको विश्लेषण छ।विगतमा न्यूनतम २० देखि ६० वर्षको फरकमा दोहोरिने यस्ता विपद् लगभग हरेक वर्षजसो दोहोरिन थालेका छन्।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले पछिल्लो समय बाढीको ‘फ्रिक्वेन्सी’ (संख्या) र ‘भोलुम’ (आयतन) बढेको विषयलाई गम्भीरतापूर्वक लिएको छ। यसबारे अन्तर्राष्ट्रिय निकायमा जलवायु क्षतिपूर्तिको मुद्दा लैजान सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए।

भदौ १० गते बिहान चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित रसुवागढीभन्दा उत्तरपूर्व पर्ने ल्हेन्दे खोला क्षेत्रमा हिमपहिरो वा हिम चट्टान खसेपछि आएको बाढी भोटेकोसी हुँदै त्रिशूली र त्यसपछि नारायणी नदीसम्म विस्तार भयो। यसले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा ठुलो क्षति पुर्‍यायो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले आजसम्म सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार यस बाढीमा परी मृत्यु हुनेको संख्या बढिरहेको छ।

मृतक र बेपत्ताको संख्या अद्यावधिक हुँदै गएकाले यो लगातार परिवर्तन भइरहेको छ। सरकारले भौतिक क्षति प्रारम्भिक रूपमै दुई खर्ब रुपैयाँभन्दा बढी हुने आकलन गरेको छ। खोज तथा उद्धारमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल र विदेशी उद्धारकर्मी टोलीसमेत परिचालित छन्। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार प्रयास अझै जारी छ।

यस घटनालाई हालसम्मकै सबैभन्दा घातक हिमाली विपद् मानिँदै आएको छ। विज्ञहरूले यसलाई हिमाली सुनामीको संज्ञा दिएका छन्। तुलनात्मक रूपमा हेर्दा विगतका साना घटनामा मानवीय क्षति यति धेरै भएको थिएन, तर यसपटक जनसंख्या बढी भएको तराई–भावर क्षेत्रसम्म बाढी पुगेकाले क्षति असाधारण रूपमा बढेको देखिन्छ।

हिमालबाट अत्यधिक पानी आएर वा हिमताल/हिमचट्टान फुटेर आउने बाढीलाई हिमताल विस्फोटजन्य बाढी भनिन्छ।नेपालमा अहिलेसम्म २६ भन्दा बढी ठुला यस्ता घटना दर्ता भएका छन्, जसमध्ये १४ वटा नेपालकै भूभागबाट र बाँकी तिब्बत (चीन) मा रहेका हिमताल फुट्दा नेपालमा क्षति पुगेको हो।

सरकारी रेकर्डअनुसार यसअघिका केही प्रमुख घटनालाई लिन सकिन्छ।२०८१ साउन ३२ गते सोलुखुम्बुको थामेमा बाढी आयो। खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेमाथिको हिमतालमा पहिरो खसेपछि दुईवटा हिमताल शृंखलाबद्ध रूपमा फुटेका थिए। यसमा मानवीय क्षति भएन, तर आधिकारिक विवरणअनुसार गाउँका करिब १३–१७ घर पूर्णरूपमा क्षतिग्रस्त भए, एउटा विद्यालय र स्वास्थ्य क्लिनिक बग्यो र खुम्बु बिजुली कम्पनीको बाँध क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन नै रोकिएको थियो।

सोलुखुम्बुको लाङमोचे उपत्यकामा तालमाथिबाट हिमपहिरो खसेर दिग च्छो हिमताल विस्फोट भयो। २०४२ साउन २० मा तालको प्राकृतिक बाँध फुट्यो। निर्माणाधीन नाम्चे साना जलविद्युत् आयोजना, धेरै पुल र खेतीयोग्य जमिन ध्वस्त भए भने तीनजनाको मृत्यु भएको थियो।

२०५५ साल भदौ १८ गते संखुवासभाको तम पोखरी हिमताल विस्फोटन भयो।यसले धेरै पुल बगाएको र कम्तीमा दुईजनाको मृत्यु भएको थियो।

२०३८ असार २७ गते झाङझाङ्बो–छो ताल फुटेको थियो।तिब्बतमा फुटेको यो तालको बाढीले भोटेकोसी–सुनकोसी कोरिडोरमा क्षति पुर्‍यायो। मितेरी पुल, अरनिको राजमार्गका खण्ड र सुनकोसी जलविद्युत् केन्द्रको बाँध ध्वस्त भएको थियो।

२०३४ साल साउन १९ मा सोलुखुम्बुको इम्जा र नारे हिमताल विस्फोटन भएको थियो, जसले करिब चार लाख घनमिटर पानी बग्दा भौतिक संरचना र चौपायामा ठुलो क्षति पुगेको थियो।

रसुवा, नुवाकोट, सोलुखुम्बु, संखुवासभा र सिन्धुपाल्चोक (भोटेकोसी करिडोर) यस्ता घटनाबाट बारम्बार प्रभावित हुने मुख्य क्षेत्र हुन्, जहाँ जलविद्युत् आयोजना, रणनीतिक पुल, विद्यालय, राजमार्ग र सयौं हेक्टर खेतीयोग्य जमिन जोखिममा पर्छन्।

मनाङमा २०७८ असार १ मा लगातार तीन दिन परेको भारी वर्षाका कारण मस्र्याङ्दी नदी र स्थानीय ठाडा खोलाहरूमा भीषण बाढी–पहिरो आयो, जसले चामे, नासो र ङिस्याङ गाउँपालिकामा ठुलो क्षति पुर्‍यायो। प्रसिद्ध पर्यटकीय क्षेत्र ताल गाउँको आधाभन्दा बढी बस्ती डुब्यो, चामे जोड्ने बेलिब्रिज र थुप्रै काठेपुल, सडक तथा साना जलविद्युत् गृह बगेर मनाङ लामो समय देशका अन्य भागबाट सम्पर्क विच्छेद भयो। करिब एक हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए।

२०४२ सालको साउनको दोस्रो सातामा काली गण्डकी क्षेत्र (मुस्ताङ र म्याग्दीको दाना क्षेत्र) मा हिमताल विस्फोट र ठुलो पहिरोका कारण भीषण बाढी आउँदा आधिकारिक रेकर्डअनुसार दुईजनाको मृत्यु भएको र ३२ भन्दा बढी परिवार विस्थापित भएका थिए, जसलाई पछि तनहुँको ढोरफिर्दीमा पुनर्बास गराइयो।नदीकिनारका सयौं रोपनी खेतीयोग्य जमिन कटानमा परी बगरमा परिणत भए।

छिमेकमा पनि उस्तै जोखिम

नेपालभन्दा बाहिर पनि हिमताल विस्फोटनजन्य बाढीले ठुलो क्षति पुर्‍याइरहेको छ।२०८० असोज १७ को मध्यरातमा उत्तरी सिक्किमको साउथ ल्होनाक हिमतालमाथि पहाड धस्किएर ताल फुट्दा टिस्टा नदीमा भीषण बाढी आयो, जसले सिक्किमको सबैभन्दा ठुलो जलविद्युत् आयोजना तेस्ता– ३ बाँधलाई नै बगायो।

वैज्ञानिक अध्ययनअनुसार यस विपद्मा सिक्किममा मात्रै कम्तीमा ५५ जनाको मृत्यु पुष्टि भएको थियो र दर्जनौं हप्तासम्म बेपत्ता रहे, जसमा भारतीय सेनाका जवान पनि परेका थिए। बाढीको असर पश्चिम बंगाल हुँदै बंगलादेशसम्म पुगेको थियो। २०७८ कात्तिक ३ मा भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी भारतको उत्तरखण्डमा ४७ जनाको मृत्यु भएको थियो। कुमाउ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। कुमाउमा मात्रै बाढीसँग सम्बन्धित घटनामा ४२ जनाले ज्यान गुमाएका थिए।

किन बढ्दै छ जोखिम?

विज्ञहरूका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ग्लोबल वार्मिङको असर विश्वको औसतभन्दा बढी देखिएको छ, जसले हिमनदी तीव्र गतिमा पग्लन बाध्य पारेको छ। यसका कारण पुराना हिमतालको क्षेत्रफल बढ्दै गएको र नयाँ हिमताल बन्दै गएको विज्ञहरू बताउँछन्। अर्कातर्फ एकै ठाउँमा ठुलो वर्षा हुने कुनै ठाउँमा पानी नपर्ने जस्ता समस्या पनि देखिएका छन्।

नेपालका कोसी, गण्डकी र कर्णाली बेसिनमा दुई हजारभन्दा बढी हिमताल रहेकामा २१ वटा नेपालतर्फ र २५ वटा चीनतर्फ (जम्मा ४६ वटा) जुनसुकै बेला फुट्न सक्ने ‘अति उच्च जोखिम’ अर्थात् ‘टाइम बम’ का रूपमा वर्गीकृत छन्।

चीनतर्फका हिमतालबारे पूर्व सूचना नेपालले समयमै पाउन कठिन हुने भएकाले भोटेकोसी–सुनकोसी कोरिडोरमा बारम्बार बढी क्षति हुने गरेको छ। यसका लागि नेपाल र चीनबिच संयुक्त अनुगमन तथा वास्तविक समयको डेटा आदानप्रदान संयन्त्र आवश्यक रहेको विज्ञहरूको सुझाव छ।

साथै अति जोखिमयुक्त तालहरूमा सोलुखुम्बुको च्छोरोल्पा, इम्जा तालमा जस्तै प्रविधिको प्रयोग गरी पानीको सतह घटाउने, स्याटेलाइट र ड्रोनमार्फत निरन्तर निगरानी गर्ने, नदी किनारमा स्थायी संरचना वा बस्ती नबसाल्ने गरी कडा भू–उपयोग नीति लागू गर्ने र स्थानीय समुदायलाई लक्षित गरी विपद् पूर्व तयारी तालिम सञ्चालन गर्ने आवश्यकता औंल्याइएको छ।

प्रकाशित: १८ भाद्र २०८३ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App