समाज

मिथिलामा छठको रौनक : घाट सजावटदेखि बजारको चहलपहल

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सजाउने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरवा पोखरीलगायतमा सजावटको काम भइरहेको छ।  

गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्ष पनि गंगासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा राम्रो व्यवस्था गरिरहेको बताए।  

गुप्ताले यो वर्ष प्रतिअर्घ रु ६०० निर्धारण गरिएको बताए। उनले भने, ‘सबैले दिंदैनन्। नदिनेले पनि यहाँ अर्घ राख्छन्। प्रत्येक वर्ष रु ३००-३५० पुर्जा काट्ने गरेको छ। श्रद्धालु भक्तजनहरूबाट आएको रकमले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।’  

गंगासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा छ भने झिलिमिली बत्तीको काम बाँकी छ। गंगासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ।  

यस्तै, अरगजा सरमा छठको घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैं सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट र सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए।  

कर्णले यो पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका केही व्यक्ति पनि रहने गरेको बताए। ‘कर्णले घाटमा अर्घ राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अर्घ राख्नेसँग कुनै दबाब हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौं,’ उनले भने।  

शान्ति सुरक्षाका लागि प्रहरीसँग समन्वय गरिएको छ। यो पोखरीमा पाँच हजारभन्दा बढी अर्घ रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ। मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइपखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ।  

त्यस्तै, यो पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ। जनकपुरधामको बजारहरूमा बाँस र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ। छठ पर्वमा बाँस र माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैंटो, हात्ती, बाँसबाट बनेको छिट्टी (टोकरी), नांग्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन्।  

चार दिनसम्म मनाइने छठ पर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। चार दिनको यो पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ। यो पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय-खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभर उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ।  

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कन्सुपती, कलशसहितको घैंटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। यस्तै, छठ पर्वको अन्तिम दिन मंगलबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ। रासस

प्रकाशित: ८ कार्तिक २०८२ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App