समाज

बिहानकै जस्तै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

फाइल तस्बिर

रसुवाको भोटेकोशी नदीमा आएको बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार मलेखुस्थित स्टेसनले १०.८ मिटर बाढी मापन गरेको थियो। त्यसपछि बाढीले उक्त स्टेसनसमेत बगाएको छ। बाढी कालीखोला हुँदै देवघाटतर्फ अघि बढिरहेको छ।

चितवन-देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। बाढीको बहाव दिउँसो करिब ३:३० बजे देवघाटमा पुग्ने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार पानीको सतहमा करिब ३ मिटर वृद्धि हुन सक्ने र सतह करिब ८ मिटर पुग्न सक्ने महाशाखाले जनाएको छ। यो २ देखि ३ वर्षमा एकपटक दोहोरिने अवधिको बाढी हुने अनुमान गरिएको छ।

हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा डुबानको सम्भावना कम रहेको महाशाखाले जनाएको छ। तर अर्को सूचना जारी नभएसम्म नदी छेउछाउका बस्ती तथा बजारका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरिएको छ।

माथिल्लो क्षेत्रमा जति ठूलो बाढी नदेखिए पनि तल्लो तटीय क्षेत्रमा पुग्दा क्षति गर्ने सम्भावना उच्च रहेको महाशाखाले बताएको छ। नदी आसपास नजान र महाशाखाले जारी गर्ने सूचना तथा एसएमएसअनुसार आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

बाढीको अवस्था र आफ्नो क्षेत्रमा बाढी कहिले पुग्न सक्छ भन्ने जानकारीका लागि महाशाखाको ११५५ नम्बरमा २४ घण्टा सम्पर्क गर्न सकिनेछ। विपद्सम्बन्धी क्षतिको जानकारी भने ११४९ नम्बरमा दिन सकिने जनाइएको छ।

प्रकाशित: १० भाद्र २०८३ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App