गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।
बाराको सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोली निवासी साहको कुशको शवमा उनका बुवा दिनकर साहले दागबत्ती दिए । त्यसपछि टियरी नदी किनारमा हिन्दु धार्मिक परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको हो ।
अन्तिम संस्कारअघि नेपाली सेनाको टोलीले साहलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो ।
साह तीन वर्षअघि नेपाली सेनामा भर्ती भएका थिए । पोखरामा तालिम पूरा गरेपछि उनी रसुवाको गोसाइँकुण्ड पुगेका थिए । त्यसपछि नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रहेका उनका बुवा दिनकरले बताए ।
भोटेकोशी बाढी आउँदा ड्युटीमै रहेका साह बेपत्ता भएका थिए । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको बुवा दिनकरले बताए ।
‘लामो समयसम्म खोजी गर्दा पनि छोराको अवस्था पत्ता लागेन । उनको मोक्षका लागि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हौँ,’ उनले भने ।
प्रकाशित: १० आश्विन २०८३ १८:२४ शनिबार

-600x400.jpg)

