अवैध रूपमा संयुक्त राज्य अमेरिका पुगेका कतिपय युवा डिपोर्ट हुँदा ‘घर न घाट’का भएका छन्। अवैध रूपमा अमेरिका छिर्नु जोखिमपूर्ण भए पनि सयौं नेपाली लाखौँ रुपैयाँ खर्चेर अवैध रुपमा ‘तल्लो बाटो’ बाट त्यहाँ पुगेका पुगेर डिपोर्ट भएका घटनाहरूले घर न घाटका भएका हुन्। अवैध रुपमा लाखौं रुपैयाँ खर्चिएर अमेरिका पुग्ने सपनाले धेरैको पारिवारिक जीवन उजाडिएको छ भने कतिपयले ज्यानै गुमाउनुपरेको छ।
अहिले तल्लो बाटोबाट मात्रै नभएर वैधानिक तवरले अमेरिका गएका नेपाली पनि फर्किनुपरेको छ। विशेषगरी पश्चिम नेपालका दाङ र रुकुम (पूर्व र पश्चिम) का युवा तल्लो बाटो हुँदै अमेरिका पुग्ने गरेका छन्। त्यसरी अमेरिका पुगेका कतिपयको जीवन सुन्दर भएको छ भने कतिपयको जीवन उजाडिएको छ।
अमेरिका पुगेर फर्किनेमा रुकुमका एक युवक पनि छन्। प्रलोभनमा परेर विभिन्न देश हुँदै अमेरिका पुगेको केही समयमै ती युवकलाई नेपाल फिर्ता गरियो। उनी फर्किएको धेरै समय भएको छैन।
वैदेशिक रोजगारीका लागि अवैध रूपमा अमेरिका छिरेको भन्दै ती युवकलाई त्यहाँको सरकारले नेपाल फिर्ता पठाएको हो। ऋणको भारी बोकेर पुरानै चिनजानका रुपलालबाट उनी गत वर्ष अमेरिका पुगेका थिए। एजेन्ट रूपलालले आफ्नै भान्जालाई पनि अमेरिका पुर्याइसकेको भन्दै ती युवकलाई प्रलोभनमा पारेका थिए।
‘मैले मेरा भान्जालाई समेत अमेरिका पठाइसकेको छु। भान्जाबाबुले अहिले राम्रो कमाइ गरिरहेका छन्,’ एजेन्ट रूपलालले आफूलाई यसरी प्रलोभनामा पारेको बताउँदै ती युवकले भने, ‘तिमी जाने भए तिमीलाई समेत अमेरिका पठाइदिन्छु। के छ सुरसार? जम्मा ७५ लाख रुपैयाँ मात्र लाग्छ।’
गत असारमा अमेरिकाबाट फर्किएका ती युवकले नाम नभन्ने सर्तमा भने, ‘जति चाँडो पैसा तयार पार्यो उति चाँडो अमेरिका पुगिन्छ भनेपछि सुरुमा २८ लाख रुपैयाँ बैंकमार्फत दिएको थिएँ।’ केही दिनपछि फेरि पैसा चाहिने भन्दै एजेन्टले मागेपछि ती युवकले २० लाख रुपैयाँ बुझाएका थिए।
रूपलालले रेसमी किराले धागो छोडेझै ती युवकलाई आफ्नो जालोमा पारिरहेका थिए। एजेन्टद्वारा दुबई हुँदै अमेरिका पुग्ने सपना उनले देखेका थिए। ती युवकले अमेरिका छिर्ने क्रममा बाटोमा धेरै दुःख पाए। उनी अमेरिका पुग्नेक्रममा महिनौंसम्म विभिन्न देशमा अलपत्र परेको सम्झन्छन्।
ती युवकले आफ्नो पीडा मानव बेचबिखन अनुसन्धान ब्युरोमा पोख्दै भने, ‘दुबई पुगेको महिना दिन हुँदासम्म पनि एजेन्टले आजभोलिमै अमेरिका पुर्याउने भन्दै ढिलाइ गरिरहे। पछि बल्लतल्ल भिजिट भिसामा त्यहाँबाट अजरवैजान पुर्याइयो। त्यहाँ महिना दिन बसेपछि फेरि दुबई फिर्ता हुनुपर्यो। त्यसपछि मैले एजेन्टलाई सबै पैसा र नेपाल फिर्ता गर्न आग्रह गरे।’
दुबई फिर्ता भएको दुई साता नपुग्दै फेरि आफूलाई उज्बेकिस्तान पुर्याइएको ती युवकले सुनाए। उनले त्यहाँ दुई महिना बसेपछि ब्राजिल पुगेको बेलिबिस्तार लगाए। त्यहाँ पुग्दासम्म एजेन्टले उनीबाट पुनः १३ लाख रुपैयाँ लिइसकेको थिए।
उनले ब्राजिलबाट बोलिभिया, पेरु, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, हुन्डेरस हुँदै ग्वाटेमाला पुर्याइएको कहालीलाग्दो पीडा सुनाए। यात्राका क्रममा उनलाई जहाज, बस, डुंगा चढाइएको थियो। कतिपय अवस्थामा पैदल यात्रा गर्नुपरेको उनले बताए। उनले अमेरिकासम्मको यात्रा तय गर्दा विभिन्न मितिमा ८९ लाख रुपैयाँ रूपलाललगायत अन्य एजेन्टलाई बुझाएको पीडा ब्युरोलाई सुनाए।
उनका अनुसार यात्राका क्रममा एकपछि अर्को देश पुर्याउनेबित्तिकै एजेन्टले पैसा माग्थे। विभिन्न कष्टका साथ मेक्सिको पुगेको महिना दिनपछि बल्ल अमेरिका छिरेको उनले बताए। ‘एक महिनासम्म एजेन्टले मेक्सिकोमै राख्यो,’ ती युवक भन्छन्, ‘एजेन्टसँग बारम्बार झगडा गर्न पनि नमिल्ने। बल्लतल्ल अमेरिका पुगियो। दुर्भाग्य अमेरिका पुगेको केही समयमै त्यहाँका सुरक्षाकर्मीले समातेर जेलमा हाले।’
उनको अमेरिका पुग्ने सपना पूरा त भयो तर जेल बसेको १० महिनापछि नेपाल फिर्ता हुनुपर्यो। उनलाई गत असार ३१ गते अमेरिकाले डिपोर्ट गरेको हो। त्यसरी नेपाल फिर्ता भएका उनी एजेन्ट सम्पर्कमा नअएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिन पुगेका हुन्। उनले एजेन्टविरुछ मानव तस्करीको आरोपमा जाहेरी दिएका छन्।
डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि अमेरिकाबाट दुई सय ४३ जना नेपाली डिपोर्ट भइसकेका छन्। ट्रम्प प्रशासनले कागजविहीन आप्रवासीलाई सुरुमा स्वदेश फर्किन अनुरोध गरेको थियो। अनुरोध स्वीकार नगर्नेलाई अमेरिकी सरकारले खोजीखोजी डिपोर्ट गर्दै आएको छ।
कानुनविपरीत अमेरिका प्रवेश गर्ने नेपालीमा रुकुमका युवा पहिलो र दाङका युवा दोस्रो स्थानमा रहेको ब्युरोका एसएसपी कृष्ण पंगेनी बताउँछन्। ४५ लाख रुपैयाँदेखि एक करोडसम्म लिएर अमेरिका पुर्याउने सपनामा एजेन्टहरूले धेरै युवालाई अलपत्र पारेको उजुरी ब्युरोमा परेको उनले बताए।
पंगेनीका अनुसार अमेरिका पुर्याउने गिरोहको ठुलो सञ्जाल छ। ‘अवैधानिक रूपमा अमेरिका जानु र पुर्याउनु मानव तस्करी हो,’ उनले भने, ‘गरिबी, बेरोजगार, गन्तव्य देशको आकर्षण र छिमेकी तथा साथीभाइको लहलहैमा युवा मानव तस्करीमा पर्ने गरेका छन्।’
सबैको अमेरिकी सपना साकार नहुने एसएसपी पंगेनीले बताए। अमेरिकी सपनाले ऋणको भारी बोकाउने मात्रै नभई धेरैको कन्तबिजोग भएको र कतिपयले ज्यान समेत गुमाउनुपरेको छ।
प्रकाशित: १५ कार्तिक २०८२ ०९:५४ शनिबार