आफूलाई ‘सञ्चारको सइ’ बताउँदै छोरालाई खोजिदिन आग्रह गरेका सहकर्मीलाई गालीगलौज गर्ने जिल्ला प्रहरी कार्यालय गौरका हवल्दार बुधन महतोमाथि निलम्बन प्रक्रिया अघि बढाइएको छ।
घटनाको अडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएपछि रौतहट प्रहरीले महतोमाथि कारबाही प्रक्रिया थालेको हो।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएलगत्तै रौतहट प्रहरीले महतो र पीडित हवल्दार सुरेश यादव दुवैलाई जनकपुर पठाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख सिताराम रिजालले दुवैबीच के भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
‘सार्वजनिक अडियोमा गल्ती दुवैको देखिएको छ,’ उनले भने, ‘हवल्दार बुधन महतोले आफूलाई सइ बताएर आफ्ना सहकर्मीमाथि गरेको गालीगलौजका कारण अनुसन्धान हुन्छ।’
प्रहरी प्रमुख रिजालले पीडित हवल्दार यादवले पनि पहिला घटनाबारे कार्यालय प्रमुखलाई जानकारी नगराई अडियो सार्वजनिक गरेको बताए। कार्यालय प्रमुखलाई सुनाउनुपर्ने विषय सिधै सामाजिक सञ्जालमा हालेको उनको भनाइ छ।
नेपाल प्रहरीको जनकपुर गणबाट थप मद्दतका लागि रौतहटको चन्द्रपुर-९ स्थित डुमरिया इलाका प्रहरी कार्यालय (सुरक्षा बेस) मा खटिएका हवल्दार यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट बेपत्ता भएका थिए। एसईई सकेर अध्ययनका लागि राजधानीमा बस्दै आएका चन्दन छठ पर्व मनाउन घर आएका बेला अचानक हराएका हुन्।
छोराको खोजी र उद्धारका लागि जानकारी गराउन यादवले शुक्रबार जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा सम्पर्क गरेका थिए। त्यहाँबाट सञ्चार शाखामा टिपाउन भनिएपछि उनले सञ्चार शाखामा फोन गरेका थिए।
सार्वजनिक अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भनी परिचय सोधेको सुनिन्छ। तर, महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेका थिए।
महतोले आफ्नो दर्जा बताउन नमिल्ने जवाफ दिँदै अपमानजनक गालीगलौज गरेको अडियोमा सुन्न सकिन्छ।
छोरा बेपत्ता भएको घटनाको जानकारी गराउन फोन गरेका व्यक्तिमाथि प्रहरीबाटै दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि रौतहट प्रहरीको आलोचना भएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले विज्ञप्ति जारी गर्दै शुक्रबार सञ्चार शाखा र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीचको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
प्रकाशित: ५ मंसिर २०८३ १५:१२ शनिबार



