विराटनगरस्थित नेपाल–भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट चेकजाँचमा कडाइ गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीतिअनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्न थालेका हुन्। नेपाल सरकारले ५०० रुपैयाँभन्दा बढीको सामान आयातमा रोक लगाएको छ। यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ। जसका कारण दुवैतर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कडाइ गर्न सक्रिय भएका हुन्।
नेपाल–भारत सीमास्थित भारतीय बजार जोगवनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। यस्तै लत्ताकपडा, खाद्यान्न, तरकारी, फलफूल पनि विराटनगरमा भन्दा जोगवनीमा सस्तो हुने गरेको उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले कडाइ गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगवनी जाने सर्वसाधारणको भिड भने रानी नाकामा उत्तिकै छ। जोगवनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एकै पटक ल्याउन नपाए पनि थोरै–थोरै सामान भने सहजै ल्याउन पाइरहेका छन्।
नेपालतर्फको रानी नाकामा जोगवनीतर्फबाट बढीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामाग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको ताँती नै देख्न सकिन्छ। सीमामा थोरै मात्रामा सामान ल्याउँदा चेकजाँच भए पनि प्रहरीले नरोकेको विराटनगर १३ की सजना मण्डलले बताइन्।
विगतमा जोगवनीबाट किनमेल गरेर आउँदा नेपालतर्फका सुरक्षाकर्मीहरूले मात्रै चेकजाँचमा कडाइ गर्ने गरेकोमा हाल भारततर्फको सीमा सुरक्षा बलले पनि चेकजाँचमा कडाइ गर्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘दुवैतर्फ चेकजाँच गरिए पनि थोरै सामान ल्याउँदा समस्या हुँदैन।’
सीमावर्ती बजारमा किनमेल गर्न जानेहरूलाई कडाइ गर्ने गरिए पनि भारतबाट आउने आगन्तुकहरू, नेपालबाट घुमेर फर्केका नेपालीहरूले बोकेका ब्याग र लगेजहरू भने सुरक्षाकर्मीहरूले चेकजाँचपछि सहजै छाड्ने गरेका छन्। नेपाल घुम्न आउने र भारत घुमेर फर्केकाहरूले बोकेका लगेज र ब्यागहरूमा चेकजाँच गरिए पनि सुरक्षाकर्मीहरूले नरोक्ने गरेको यात्रुहरूले बताएका छन् तर पेय पदार्थहरू भने आयातमा नेपालतर्फका सुरक्षाकर्मीले निषेध गरेका छन्। कोक, फ्यान्टा मिरिन्डा, ड्युजस्ता पेय पदार्थ आयातलाई पूर्ण रूपमा निरुत्साहित गरेका सुरक्षाकर्मीहरूले त्यस्ता सामान आयात गरे नेपाल प्रवेश नदिई भारततर्फ नै फर्काइदिने गरेका छन्।
विराटनगरस्थित रानी नाकामा भारतबाट विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको चाप हुने गरेको छ भने नेपालबाट भारतको जोगवनीमा किनमेल गरेर फर्कनेहरू र भारतको भ्रमण गरेर फर्कनेहरूको पनि उत्तिकै भिड देखिने गरेको छ। यता विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले सरकारको निर्देशन अनुसार ५०० रुपैयाँभन्दा बढीको घरायसी प्रयोजनका सामानहरूलाई निरुत्साहित गरिएको स्पष्ट पारे। विशेष गरी व्यवसायीक सामानहरूलाई जोगवनी नाकाबाट ल्याउन नदिइएको उनको भनाइ छ।
विगतमा यात्रु शाखामा काउन्टर राखेर संक्षिप्त कर विजक तिरेर सामान ल्याउन पाउने व्यवस्था थियो। तर यतिबेला त्यस्तो व्यवस्था हटाइएको साहले बताए। ‘तोकिएको मापदण्डभित्रका समान मात्रै यात्रु शाखाबाट ल्याउन पाइन्छ अन्य सामान त्यहाँबाट ल्याउन पाइँदैन,’ साहले भने।
यात्रु शाखाबाट व्यावसायिक सामान ल्याउन दिँदा त्यसले राजस्व र आन्तरिक बजारलाई पनि प्रभावित पार्ने भएकाले तोकिएको मापदण्डबाहिरको सामान यात्रु शाखाबाट ल्याउन रोक लगाइएको साहले स्पष्ट पारे।
दसगजा मिचेर चेकपोस्ट
रानी नाकामा भारतीय र नेपाली दुवैतर्फका सीमा सुरक्षा बलहरूले दसगजा नै अतिक्रमण गरेर चेकपोस्ट राखेको पाइएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल - भारत सीमा नाका रानीस्थित दसगजामा दुई वटा चेकपोस्ट राखेको छ। नेपाली सीमा सुरक्षा बल सशस्त्र प्रहरीले पनि दसगजामै एउटा अस्थायी चेकपोस्ट राखेर चेकजाँचलाई कडाइ गरिरहेको छ। विगतमा व्यवसायीहरूले यस जोगवनी–रानीस्थित नाकाको दसगजा मिचेर व्यवसाय सञ्चालन गर्दै आएका थिए।
दसगजा खाली गर्ने अभियानअन्तर्गत उक्त क्षेत्र खाली गरिएको थियो। तर दसगजामा यतिबेला दुवै देशका सीमा सुरक्षा बलले टेन्ट टाँगेर चेकपोस्ट खडा गरेका छन्। नागरिकले यस विषयमा जिज्ञासा राख्दा मोरङका सहकाय प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालालाई आफू अनभिज्ञ रहेको बताए।
प्रकाशित: ६ असार २०८३ ०८:१३ शनिबार



